
दाङ, २०८२ साउन २८- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवामा नयाँ माइलस्टोन सेट गरेको छ। न्युरो सर्जन डा. उपमा शर्माको नेतृत्वमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको टोलिले बुधबार पहिलोपटक ठूलो ब्रेन ट्युमरको अप्रेसन सम्पन्न गरेको हो। अस्पतालका अनुसार बिरामीको अवस्था हाल सामान्य रहेको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले यसैवर्ष न्युरो सर्जरी सम्बन्धी आवश्यक उपकरणको पूर्ण व्यवस्थापन हुने जानकारी दिए। उनले सरकारले न्युरो सर्जरीका लागि १४ करोड रुपैयाँको बजेट विनियोजन गरेको र उपकरण खरिद प्रक्रिया अगाडि बढेको बताए।
त्यस्तै, मुटु रोग उपचारको लागि १० करोड रुपैयाँमा क्याथ ल्याब मेसिन खरिद गरिएको छ र भदौमा जडान हुने तयारी रहेको रजिस्ट्रार लम्सालले जानकारी दिए। यसै आर्थिक वर्षमा ४ अर्ब ५१ करोड लागतको चार शय्याको अस्पताल निर्माण पनि शुरु हुने छ।
विशेषज्ञहरूका अनुसार, राप्ती प्रतिष्ठानमा ब्रेन ट्युमरको सफल अप्रेसनले न्युरो सर्जरी सेवामा स्थानीय पहुँच बढाउने, बिरामीको स्वास्थ्य सेवामा गुणस्तर सुधार्ने, र क्षेत्रीय स्वास्थ्य प्रणालीलाई सशक्त बनाउने विश्वास गरिएको छ।
प्रतिष्ठानले थप आधुनिक उपकरण र विशेषज्ञ स्वास्थ्यकर्मीको व्यवस्थापनमार्फत उच्चस्तरीय न्युरो सर्जरी सेवा प्रदान गर्ने योजना अघि सारेको छ।