Swasthya Awaj
को हुन् बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ?

काठमाडौँ, २०८२ साउन २८- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा विक्रम प्रसाद श्रेष्ठ चिकित्सा शिक्षा, क्लिनिकल सेवा र संस्थागत नेतृत्वमा दुई दशकभन्दा बढी अनुभव बोकेका व्यक्तित्व हुन्। एमबीबीएस अध्ययनबाट सुरु भएको उनको यात्रा २५ वर्षमा प्रोफेसरको पदसम्म पुगेको छ । उनी प्रतिष्ठानकै पूर्व शिक्षाअध्यक्ष रहिसकेका छन् र संस्थागत विकासमा लामो समयदेखि सक्रिय योगदान दिँदै आएका छन्।

श्रेष्ठले उपकुलपतिको पदभार सम्हाल्दै प्रतिष्ठानलाई पुनः “सशक्त र गौरवमय” बनाउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार पछिल्ला ८-१० वर्षयता कमजोर व्यवस्थापन र पदाधिकारीबीचको असहमतिका कारण प्रतिष्ठान “दुब्लाएको हात्ती” जस्तो अवस्थामा पुगेको छ। “मेरो मुख्य लक्ष्य यो दुब्लाएको हात्तीलाई पुनः मोटो र बलियो हात्ती बनाउनु हो,” श्रेष्ठले भनेका छन्।

TB

भ्रष्टाचार नियन्त्रण र आर्थिक अनुशासनलाई आफ्नो पहिलो प्राथमिकतामा राख्दै उनले गुणस्तरीय र मूल्य नियन्त्रणमा आधारित खरिद नीति लागू गर्ने योजना सुनाए। “कम सामान किन्ने होस्, तर गुणस्तरीय होस्,” भन्ने उनको अडान छ।

श्रेष्ठले शिक्षकमात्र होइन, सम्पूर्ण कर्मचारीको मनोबल उच्च बनाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार विगत केही वर्षयता कर्मचारीहरूको मनोबल खस्किँदा कार्यक्षमता र सेवाको गुणस्तरमा नकारात्मक असर परेको छ, जसलाई तत्काल सम्बोधन गर्नुपर्नेछ।

उनले प्रतिष्ठानका तीन आधारभूत उद्देश्य शिक्षा, चिकित्सा तथा स्वास्थ्य सेवा, र अनुसन्धानलाई सुदृढ बनाउने योजना अघि सारेका छन्। श्रेष्ठको विश्वास छ, “यी उद्देश्यहरू बलियो भएपछि मात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो गौरवमय अवस्थामा फर्किन्छ।”

स्वास्थ्य शिक्षा क्षेत्रमा लामो समयको अनुभव, संस्थागत सुधारको स्पष्ट दृष्टि र अनुशासनप्रतिको प्रतिबद्धतासहित प्राडा विक्रम प्रसाद श्रेष्ठको नेतृत्वमा प्रतिष्ठानले पुनः सशक्त रुप लिन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update