
काठमाडौँ, २०८२ साउन २८- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा हालै नियुक्त भएका प्रा. डा. बुद्धि प्रसाद पौडेल चिकित्सा क्षेत्रका एक अनुकरणीय व्यक्तित्व मानिन्छन्। उनी सीएमए (अहेव) बाट सुरु भएको करियर यात्रा पार गर्दै आज प्रतिष्ठानको नेतृत्वसम्म पुगेका छन्।
रूपन्देहीको एक साधारण किसान परिवारमा जन्मिएका प्रा. डा. पौडेलको चिकित्सा यात्राको सुरुवात २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा तानसेनस्थित सीएमए तालिमबाट भएको हो। त्यसपछि उनले गोरखाको आँपपिपल अस्पतालमा सेवा सुरु गरे, जहाँ अमेरिकन चिकित्सक डा. मार्क जिम्मरम्यानसँगको भेटले उनको जीवनको बाटो मोड्यो। जिम्मरम्यानको प्रेरणाले डा. पौडेलमा एमबीबीएस अध्ययन गर्ने लक्ष्य पलायो।
२०५० सालमा उनले महाराजगञ्ज मेडिकल क्याम्पसमा भर्ना हुने अवसर पाए र २०५५ सालमा गोल्ड मेडलसहित एमबीबीएस उत्तीर्ण गरे। त्यसपछि पाटन अस्पतालमा मेडिकल अफिसरका रूपमा करियर अघि बढाए। २०५८ सालमा इन्टरनल मेडिसिनमा एमडी पूरा गरेपछि उनी पुनः पाटन अस्पतालमा आवद्ध भए।
बुवाको बाथरोगको पीडाले उनलाई र्यूमटोलोजीमा विशेषज्ञ बन्न प्रेरित गर्यो। उनले क्यानडाको युनिभर्सिटी अफ टोरन्टोबाट एडल्ट र्यूमटोलोजीमा क्लिनिकल फेलोशिप र इटलीको युनिभर्सिटी अफ क्याटानियाबाट क्लिनिकल इन्डोक्राइनोलोजीमा फेलोशिप पूरा गरे।
२०६२ सालमा उनले ‘लाइफ फर चाइल्ड’ कार्यक्रम नेपालमा ल्याए, जसअन्तर्गत टाइप १ डायबिटिज भएका २५ वर्षमुनिका बालबालिकालाई निःशुल्क इन्सुलिन, ग्लुकोमिटर र एचबीए१सी परीक्षण सुविधा उपलब्ध गराइयो। यो कार्यक्रम अहिले देशका विभिन्न अस्पतालमा विस्तार भइसकेको छ।
सन् २०१८ देखि उनले नेपालमै पहिलोपटक दुई वर्षे र्यूमटोलोजी फेलोशिप कार्यक्रम सुरु गरे, जसबाट हालसम्म ६ जना बाथरोग विशेषज्ञ उत्पादन भइसकेका छन्।
प्रा. डा. पौडेलको सीएमएदेखि उपकुलपति पदसम्मको यात्रा संघर्ष, निरन्तर मेहनत र बिरामी सेवाप्रतिको समर्पणको जीवन्त उदाहरण हो। उनी विश्वास गर्छन् दृढ इच्छा शक्ति, इमानदारी र निस्वार्थ सेवाभावका साथ अघि बढे गन्तव्यको सफलता पक्कै सम्भव छ।