Swasthya Awaj
जापानी इन्सेफ्लाइटिस : बालबालिका र कृषि क्षेत्रका मानिसहरूमा बढ्दो जोखिम

काठमाडौँ, २०८२ साउन २७- मनसुन सक्रिय भएपछि जापानी इन्सेफ्लाइटिस (जेई) रोगको जोखिम बालबालिका र कृषि क्षेत्रमा संलग्न मानिसहरूमा बढ्दो छ। यो रोग मुख्य रूपमा संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भएकोले धानखेती हुने क्षेत्र, सुँगुर र हाँसपालन गर्ने ठाउँ नजिक बसोबास गर्नेहरू पनि जोखिममा पर्ने गरेका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका तथ्यांकअनुसार, सन् २०२५ मा नेपालमा तीन जनाको जेई रोगबाट मृत्यु भइसकेको छ भने ६८१ जनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको थियो। गत वर्ष ९५५ शङ्कास्पद बिरामीमध्ये ८६ जनामा जेई पुष्टि भयो भने २५ जनाको ज्यान गएको छ।

परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. अभियान गौतमले यो रोग मस्तिष्कमा गम्भीर असर पुर्‍याउने भाइरल संक्रमण भएको बताए। यसलाई फैलाउने ‘क्युलेक्स’ प्रजातिको लामखुट्टे प्रायः धानखेत, दलदल र पानी जम्ने ठाउँमा पाइन्छ। संक्रमित सुँगुर, बंगुर र जंगली चराहरूलाई टोकेपछि यो भाइरस मानिसमा सर्छ।

TB

डब्ल्यूएचओ नेपालकी अधिकृत सोनिया भगतले जेईलाई ‘भेक्टर-बोर्न’ भाइरल रोग भनेकी छन् जुन मानिसबाट मानिसमा सर्दैन। यो रोग खासगरी मच्छरको टोकाइबाट फैलिन्छ र जोखिम बढी हुने क्षेत्र धानखेती र पशुपालन हुने स्थानहरू मानिन्छन्।

जेई रोगले मस्तिष्कको स्नायु प्रणालीमा असर गर्ने हुँदा उच्च ज्वरो, टाउको दुखाइ, वान्ता, मानसिक अस्थिरता, अर्धचेत वा कोमाको अवस्था समेत आउन सक्छ। गम्भीर अवस्थामा ३० प्रतिशतसम्म बिरामीको मृत्यु हुनसक्ने डा. गौतमले बताए।

नेपालमा यो रोग पहिलोपटक सन् १९७८ मा देखिएको हो। त्यसयता विशेषगरी तराई र भित्री तराईका जिल्लाहरूमा जोखिम उच्च छ। सन् २००५ देखि जापानी इन्सेफ्लाइटिसको खोप कार्यक्रम लागु गरिएको छ र हाल १२ महिनाका बच्चालाई यो खोप दिइन्छ। तर, पाँच वर्षसम्मका बालबालिकालाई समेत खोप दिने सल्लाह चिकित्सकहरूले दिएका छन्।

बालबालिकामा संक्रमणको जोखिम बढी हुनुको मुख्य कारण उनीहरूको प्रतिरक्षा प्रणाली कमजोर हुनु हो। डब्ल्यूएचओका अनुसार २५० जनामा संक्रमण हुँदा एक जनामा गम्भीर समस्या देखा पर्छ र ती मध्ये एक जनाको मृत्यु हुने सम्भावना रहन्छ।

रोकथामका लागि स्वास्थ्यकर्मीले लामखुट्टेको टोकाइबाट बच्न झुलो प्रयोग गर्न, लामो बाहुला कपडा लगाउन, घर वरिपरि पानी जम्न नदिन र लामखुट्टे भगाउने औषधि वा धूप प्रयोग गर्न आग्रह गरेका छन्। साथै, लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने जनाइएको छ।

यस रोगले आँखा नदेख्ने, कान नसुन्ने, स्वाद हराउने वा हातखुट्टा नचल्ने दीर्घकालीन समस्या निम्त्याउन सक्ने भएकाले यसको जोखिमलाई कम गर्न आवश्यक सतर्कता अपनाउनु अत्यावश्यक छ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update