Swasthya Awaj
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, नेतृत्वमा नयाँ अनुहारहरू

काठमाडौँ, २०८२ साउन २७- नेपालका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्णयअनुसार नियुक्त भएका उपकुलपतिहरू मध्ये केहीले नियुक्तिपत्र बुझिसकेका छन् भने बाँकीले बुधबार बिहान औपचारिक रुपमा पाउनेछन्।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा.डा भरत बहादुर खत्रीले नियुक्तिपत्र प्राप्त गरिसकेका छन्। अन्य तीन उपकुलपतिलाई प्रधानमन्त्री निवासमा बोलाएर नियुक्तिपत्र हस्तान्तरण गरिनेछ।

TB

नव नियुक्त उपकुलपतिहरूमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि प्रा.डा विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा.डा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा.डा भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. पुजन कुमार रोकाया रहेका छन्।

यस अघि, असार ४ गते सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो। कमिटीमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्यका रूपमा सहभागी थिए।

सर्च कमिटीले प्रत्येक प्रतिष्ठानका लागि योग्य उम्मेदवारहरूको सूची तयार पारी प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री ओलीले चारै प्रतिष्ठानका लागि उपकुलपति चयन गरेका हुन्।

विशेषज्ञहरूले यस नियुक्तिलाई प्रतिष्ठानहरूको शैक्षिक, अनुसन्धानात्मक र स्वास्थ्य सेवा प्रणालीको सुधारमा योगदान पुर्‍याउने अवसरका रूपमा लिएका छन्। अब नयाँ नेतृत्वले पूर्वाधार विकास, जनशक्ति अभिवृद्धि, र सेवा गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update