
काठमाडौँ, २०८२ साउन २७- नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमण जोखिम अझै कात्तिकसम्म उच्च रहने विज्ञहरूले चेतावनी दिएका छन्। संक्रमित क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग समयमै पहिचान र उपचार नहुँदा मस्तिष्क सुन्निने, पक्षघात, कोमा वा मृत्युजस्ता गम्भीर परिणाम निम्त्याउन सक्छ। मृत्यु दर करिब ३० प्रतिशतसम्म हुने यो रोग नेपालमा साउनदेखि कात्तिक महिना बीच बढी फैलिने गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा चौथो श्रृङ्खलाको अभिमुखीकरण कार्यक्रम सोमबार आयोजना गर्दै स्वास्थ्य पत्रकारलाई रोगको संक्रमण, लक्षण, रोकथाम र खोपबारे विस्तृत जानकारी प्रदान गर्यो।
डब्लुएचओका सर्भिलेन्स अफिसर डा. सोनिया भगतका अनुसार संक्रमित लामखुट्टेले सुँगुर, हाँस, बकुल्ला वा जंगली चराहरूलाई टोकिसकेपछि मानिसलाई टोक्दा जेई सर्छ। यो रोग मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन। जोखिमयुक्त क्षेत्रका रूपमा धानखेत, पानी जमेको स्थान र सुँगुर हाँस फर्म वरिपरिका बस्तिहरूलाई औंल्याइयो।
सामान्य लक्षणमा ज्वरो, टाउको दुखाइ, वाकवाकी वा कमजोरी पर्छन् भने गम्भीर अवस्थामा उच्च ज्वरो, शरीरमा कम्पन, चेत गुम्नु वा पक्षघात हुनसक्छ। कुल संक्रमितमध्ये करिब ७५ प्रतिशत बालबालिका हुने गरेको तथ्यांक छ।
सरकारले शिशु जन्मिएको १२ महिनामा जेई विरुद्धको खोप निःशुल्क दिन्छ, छुटेका अवस्थामा ५ वर्षसम्मका बालबालिकालाई पनि खोप दिइन्छ। वयस्कका लागि भने यो सुविधा निजी स्वास्थ्य संस्थामा शुल्कसहित उपलब्ध छ। सन् २०२५ मा हालसम्म नेपालमा ३४ जनामा जेई पुष्टि भइसकेको र ३ जनाको मृत्यु भएको डब्लुएचओको तथ्यांकमा उल्लेख छ।
रोकथामका लागि लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू पानी जम्ने स्थान सफा राख्ने, सुँगुर वा हाँस फर्म बस्तीबाट टाढा राख्ने, शरीर ढाक्ने कपडा लगाउने, झुलको प्रयोग गर्ने र बालबालिकालाई खोप लगाउने महत्त्वपूर्ण छन्।
कार्यक्रममा डब्लुएचओका डा. राहुल प्रधान, डा. पासाङ राई तथा डा. बलविन्दर सिंह चावलाले रोग नियन्त्रणमा जनचेतनाको भूमिका र स्वास्थ्य पत्रकारको योगदानबारे प्रष्ट्याए। मञ्चका अध्यक्ष भिषा काफ्लेले यस प्रकारका अभिमुखीकरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।