Swasthya Awaj
न्याम्सको सभा बैठक सम्पन्न, चालु आ.व.को लागि ४ अर्व १२ करोड बजेट पारित

काठमाडौँ, २०८२ साउन २६- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औं सभा (सिनेट) बैठक सोमबार वीर अस्पतालमा सम्पन्न भएको छ । बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब १२ करोड रुपैयाँको बजेट पारित गरिएको छ ।

उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार, दुवाकोट परिसरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रस्तावलाई पनि बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । साथै, यस वर्ष स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयमा उत्तीर्ण भएका १७८ जनालाई आगामी दीक्षान्त समारोहमा उपाधि प्रदान गर्ने तयारी स्वरूप ग्रेस लिस्टमा सूचीकृत गर्ने निर्णय भएको छ ।

TB

बैठकले वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, र कोशी अस्पतालमा शिक्षक दरबन्दी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको महंगी भत्ता समायोजन गर्ने कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ ।

सो बैठकमा सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. आर.पी. विच्छा, स्वास्थ्य सचिव डा. विकास देवकोटा सहित अन्य सिनेट सदस्यहरूको सहभागिता थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update