
कास्की, २०८२ साउन २६- प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदनको आधारमा गरिएको निर्णय अनुसार, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र खारेज गरिने छन्। त्यस्तै, पोखरास्थित प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रलाई प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गाभेर “प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा क्षयरोग नियन्त्रण केन्द्र”का रूपमा पुनर्गठन गरिने भएको छ।
यो पुनर्संरचनासँगै स्वास्थ्य मन्त्रालय अन्तर्गतका १४ प्राविधिक र अप्राविधिक पदहरू खारेज हुँदै ५७ जना कर्मचारी कटौतीमा पर्ने छन्। सरकारका अनुसार यस कदमले वार्षिक करिब ५० करोड रुपैयाँ प्रशासनिक खर्च बचत हुने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डाले प्रशासनिक खर्चमा मितव्ययिता र कार्यसम्पादनमा दक्षता ल्याउने उद्देश्यले यो निर्णय गरिएको बताए। पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको समितिले सिफारिस गरेको संरचना सरलीकरण योजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।