Swasthya Awaj
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सुरु गर्यो ‘माइ क्लिनिको’ एआई टुल, स्वास्थ्य सेवामा नयाँ कदम

काठमाडौँ, २०८२ साउन २६- नेपालमा पहिलोपटक एआई प्रविधि मार्फत बिरामीको उपचार प्रक्रिया अघि बढाउने प्रणालीको औपचारिक प्रयोग सुरु भएको छ। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत दमक बाल अस्पतालले ‘माइ क्लिनिको’ नामक एआई टुल सञ्चालनमा ल्याएको हो। यो टुलले बिरामी र चिकित्सकबीचको संवादलाई प्रत्यक्ष सुनेर (एम्बिएन्ट लिसनिङ प्रविधि) संरचित मेडिकल नोटमा परिणत गर्ने क्षमता राख्छ। यसबाट संवादका आधारमा बिरामीको स्वास्थ्य समस्या, सम्भावित निदान, उपचार सिफारिस र औषधिको विवरण स्वचालित रूपमा तयार हुन्छ।

किओचका अध्यक्ष डा. भगवान कोइरालाका अनुसार, नेपालमा स्वास्थ्य क्षेत्रमा एआईको यो पहिलो व्यावहारिक प्रयोग हो। प्रणालीको डेमोमा देखाएअनुसार, भेटघाटको क्रममा डाक्टर र बिरामीबीचको अडियो रेकर्ड भएर पाठमा परिणत हुन्छ, त्यसपछि एनएलपी प्रविधिबाट महत्वपूर्ण जानकारी छुट्याएर स्तरीय मेडिकल नोट तयार हुन्छ।

TB

अमेरिकाको युनिभर्सिटी अफ म्यासाच्युट्समा कार्यरत डा. प्रकाश पौडेलको पहल र किओच पार्टनर्स अफ अमेरिका (के-पाल्स)को आर्थिक सहयोगमा यो प्रविधि नेपालमा ल्याइएको हो। प्रारम्भिक प्रयोगमा संलग्न चिकित्सकहरूले यसलाई समय बचत, चिकित्सकीय दस्तावेजको शुद्धता र बिरामीसँगको प्रत्यक्ष संवादमा वृद्धि गर्ने प्रभावकारी साधनका रूपमा मूल्यांकन गरेका छन्।

यस टुलले नेपाली र अंग्रेजी दुवै भाषामा काम गर्न सक्ने भएकाले, प्रयोग बढ्दै जाँदा नेपाली भाषामा यसको शुद्धता अझ उन्नत हुने अपेक्षा गरिएको छ। साथै, यो प्रणालीले स्वास्थ्य रेकर्डलाई डिजिटलाइज गर्न, अनुसन्धानको लागि डाटा संकलन सजिलो बनाउने र उपचारको गुणस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ।

डा. कोइरालाले यस प्रविधिलाई नेपालको स्वास्थ्य क्षेत्रमा एआई प्रयोगको “कोसेढुंगा” भन्दै यसको दीर्घकालीन प्रभावलाई महत्वपूर्ण उपलब्धि हुने बताएका छन्।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update