
काठमाडौँ, २०८२ साउन २६- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा बैठक राजधानीमा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेलको उपस्थितिमा भएको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, उपकुलपति डा. भुपेन्द्र बस्नेत, अन्य पदाधिकारी, अनुसन्धानकर्ता तथा स्वास्थ्य शिक्षा क्षेत्रका विज्ञहरू सहभागी छन्।
बैठकमा प्रतिष्ठानको वार्षिक प्रगति, स्वास्थ्य शिक्षा र अनुसन्धानको हालको स्थिति, आगामी योजना तथा नीति सुधारका प्रस्तावहरूबारे विस्तृत छलफल भइरहेको छ। साथै, गुणस्तरीय स्वास्थ्य शिक्षा प्रवर्द्धनका उपायहरू पनि बैठकको प्रमुख एजेन्डामा परेका छन्।
बैठकको प्रारम्भिक सत्रमा वक्ताहरूले देशको स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा न्याम्सले पुर्याएको योगदानको चर्चा गर्दै, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न निरन्तर अनुसन्धान, प्रविधिक नवप्रवर्तन र दक्ष जनशक्ति विकास आवश्यक रहेको बताएका छन्।
३३औँ सभाबाट स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।