
जनकपुरधाम, २०८२ श्रावण २५- जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरी नजिक रेल र कार ठोक्किँदा तीनजना घाइते भएका छन्। घटना आज बिहान करिब ८:३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग बागमती प्रदेश–०१–०२५च–१२९० नम्बरको कार ‘क्रसिङ एरिया’मा ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहका अनुसार कारमा सवार तीनै जनालाई सामान्य चोटपटक लागेको छ। उनीहरूलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ।
प्रत्यक्षदर्शीहरूले दुर्घटनाको समयमा ठूलो आवाज आएको र कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताएका छन्।
दुर्घटनापछि केही समयका लागि रेल सेवा रोकिएको भए पनि सुरक्षाकर्मी र प्राविधिकको सहयोगमा सेवा पुनः सुचारु गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।