
काठमाडौँ, २०८२ श्रावण २५- नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपिसी) ले देशभरका स्वास्थ्यकर्मीलाई आफ्नो ज्ञान र सीप अद्यावधिक राख्न ‘निरन्तर व्यावसायिक विकास’ (सीपीडी) कार्यक्रम लागू गर्ने तयारी गरेको छ। परिषद्को योजनाअनुसार दर्ता भएका स्वास्थ्यकर्मीले निश्चित समयभित्र लाइसेन्स नवीकरण गर्दा सीपीडी पूरा गर्नु अनिवार्य हुनेछ। यसका लागि परिषद्ले सरोकारवालासँग परामर्श गरी प्रारम्भिक कार्यविधि र मोडल तय गरिसकेको छ।
परिषद्का अध्यक्ष सुवोध शर्मा भन्छन्, “यो कार्यक्रम सुरु गर्नुको मुख्य उद्देश्य दुर्गममा कार्यरत र नियमित तालिमको पहुँचबाट टाढा रहेका स्वास्थ्यकर्मीलाई पनि अद्यावधिक तालिममा सहभागी गराउनु हो।” उनका अनुसार कार्यान्वयन ऐनको दफा ९ र नियमावलीको दफा २६ अन्तर्गत नयाँ कार्यविधि बनाएर गरिनेछ, र विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानमा तालिम केन्द्र स्थापना गर्ने योजना पनि छ।
छलफलमा सहभागी चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन प्रा.डा. मोहनराज शर्मा भन्छन्, “उच्च रक्तचापबारे आजको ज्ञान १० वर्षपछि १० प्रतिशत मात्र बाँकी रहन्छ, त्यसैले नियमित अद्यावधिक अनिवार्य छ।” पूर्व डीन प्रा.डा. रमेशकान्त अधिकारीले पनि सीपीडीलाई केवल कागजी प्रक्रिया नभई व्यावहारिक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले कानुनी आधारसहित सीपीडी लागू गर्नुपर्ने र यसका लागि चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र प्रतिष्ठानबीच सहकार्य आवश्यक हुने बताए।
अमेरिका लगायतका मुलुकमा यस्ता कार्यक्रम धेरै वर्षदेखि लागू छन्। नेपालमा पनि यसले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ। पूर्व स्वास्थ्य सेवा महानिर्देशक डा. महेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यकर्मीले हरेक वर्ष कम्तीमा सात दिन तालिम लिँदै पाँच वर्षमा आवश्यक क्रेडिट पूरा गर्न सक्नेछन्।
हाल परिषद्मा ३९ विधा र स्नातकोत्तर सहित ५० भन्दा बढी उपविधामा स्वास्थ्यकर्मी दर्ता हुने गरेको र विश्व स्वास्थ्य संगठनले यस कार्यक्रममा प्राविधिक तथा प्रावधानिक सहयोग गर्ने प्रतिबद्धता जनाएको परिषद्का रजिस्ट्रार लिलानाथ भण्डारीले जानकारी दिए।