
काठमाडौँ, २०८२ श्रावण २५- कर्णाली, पोखरा, पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस प्रक्रिया अन्तिम चरणमा पुगेको छ। गठित नाम सिफारिस समितिले बिहीबार र शुक्रबार अल्पसूचीमा परेका २४ जनासँग प्रस्तुति र अन्तर्वार्ता सम्पन्न गरेको हो।
समितिका सदस्य तथा स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार अन्तर्वार्ता र प्रस्तुति मूल्यांकनको नम्बर ट्याली गर्ने कार्य बाँकी रहेकाले सिफारिस सूची केही दिनमै टुंगिनेछ। समितिले प्रत्येक प्रतिष्ठानका लागि तीन-तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ।
गत २० साउनमा समितिले चारवटै प्रतिष्ठानका लागि ६-६ जनालाई अल्पसूचीमा राखी अन्तर्वार्ता तथा प्रस्तुति कार्यक्रम आयोजना गरेको थियो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत १४ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री पौडेलको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरिएको थियो। सो समितिमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य छन्।
समितिले गत ४ असारमा सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। सोही अनुसार बीपी कोइरालामा १३ जना, पाटनमा १० जना, पोखरामा १७ जना र कर्णालीमा १५ जना गरी कुल ५५ जनाले आवेदन दिएका थिए।