Swasthya Awaj
डेंगुको जोखिम उच्च: मनसुनसँगै संक्रमितको संख्या चारगुणा बढ्यो

काठमाडौँ, २०८२ श्रावण २२- नेपालमा मनसुन सुरु भएसँगै डेंगु संक्रमणको दर तीव्र रुपमा बढेको छ। असार र साउन महिनामा संक्रमितको संख्या झण्डै चारगुना बढेको तथ्यांकले देखाएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुन महिनामा ४९५ जनामा डेंगु देखिएको थियो भने जुलाई महिनासम्ममा यो संख्या १ हजार ९०६ पुगेको छ।

हालसम्म देशभर ७४ जिल्लामा डेंगु फैलिसकेको छ भने सन् २०२४ को सुरुवातदेखि साउन २१ गतेसम्म २ हजार ६८८ जना संक्रमित भइसकेका छन्।

TB

सबैभन्दा बढी डेंगु संक्रमण गण्डकी प्रदेशमा देखिएको छ, जहाँ ७८७ जना संक्रमित छन्। त्यसपछि बागमतीमा ५५९, कोशीमा ४७४, लुम्बिनीमा ४३४ र सुदूरपश्चिममा ३२७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले साउन महिनालाई ‘डेंगु सचेतना महिना’ घोषणा गर्दै विभिन्न अभियानहरू सञ्चालन गरिरहेको भए पनि संक्रमण रोकथाममा चुनौती कायमै रहेको देखिन्छ।

मन्त्रालयका अनुसार डेंगुको संक्रमण मनसुनसँगै बढ्ने गर्छ, किनभने एडिस जातको लामखुट्टे पानी जम्ने ठाउँहरूमा छिटो वृद्धि हुन्छ। टायर, गमला, खाली भाँडाकुँडा, कुलरजस्ता स्थानहरू लामखुट्टेको प्रजननस्थल हुने भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन मन्त्रालयले आग्रह गरेको छ।

डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। नेपालमा हालसम्म डेंगुका सबै चार सेरोटाइपहरू भेटिएका छन्। अहिले प्रचलनमा रहेका संक्रमितहरूमा ‘सेरोटाइप ३’ प्रमुख रहेको जनाइएको छ।

डेंगुको प्रारम्भिक लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, बिमिरा आउने र शरीरमा असहज पीडा हुने गर्दछ। करिब पाँच प्रतिशत संक्रमितहरूमा गम्भीर लक्षण देखिन सक्ने भएकाले समयमै अस्पताल पुग्न र चिकित्सकको सल्लाह लिन मन्त्रालयले आग्रह गरेको छ।

संघीय सरकारले डेंगु नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा १ करोड २० लाखभन्दा बढी रकम विनियोजन गरेको छ भने स्थानीय तहहरूले समेत ४ करोड ६५ लाखभन्दा बढी बजेट छुट्याएका छन्।

सरकारले ‘खोज र नष्ट’ अभियान सञ्चालन गर्दै समुदायमा लामखुट्टेको बासस्थान हटाउन जनचेतना फैलाइरहेको छ।

विगतमा २०७९/८० मा ५६ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भएको थियो भने ०८०/८१ मा संक्रमित संख्या घटेर ४८ हजार ८८३ पुगेको थियो। यद्यपि स्वास्थ्य मन्त्रालयको अनुमान अनुसार यस वर्ष पनि ६० हजारभन्दा बढीमा डेंगु देखिन सक्नेछ।

डेंगुको संक्रमण हरेक वर्ष झन् जटिल बन्दै गएको देखिन्छ। त्यसैले व्यक्तिगत सतर्कता, सरसफाइ र समयमै स्वास्थ्य जाँच अनिवार्य मानिएको छ। मन्त्रालयले लामखुट्टेको बासस्थान हटाउने र सचेत रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update