
काठमाडौँ, २०८२ श्रावण २२- दुर्लभ मस्तिष्क ट्युमरको उपचारमा प्रयोग हुने नयाँ औषधि ‘मोडियसो’ (Modeyso) ले अमेरिकी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) को स्वीकृति पाएको छ। यस औषधिको विकास ज्याज फर्मास्युटिकल्स कम्पनीले गरेको हो।
एफडिएले दिएको जानकारीअनुसार ‘डिफ्युज मिडलाइन ग्लियोमा’ (Diffuse Midline Glioma) नामक दुर्लभ र जटिल मस्तिष्क ट्युमरका बिरामीहरूका लागि यो औषधि उपयोगी हुने बताइएको छ। खासगरी एक वर्ष र त्यो भन्दा माथिको उमेरका बालबालिका तथा वयस्कमा यो औषधि सिफारिस गरिएको हो।
‘डिफ्युज मिडलाइन ग्लियोमा’ मस्तिष्कको गहिराइमा हुने एक अत्यन्तै आक्रामक ट्युमर हो, जुन मुख्य रूपमा बालबालिकामा देखिन्छ। यो ट्युमर प्रायः मस्तिष्कको स्टेम, थालामस र मेरुदण्डको आसपासका क्षेत्रहरूमा विकास हुन्छ। उपचार कठिन मानिने यस ट्युमरको हालसम्म कुनै प्रभावकारी चिकित्सा विकल्प थिएन।
नयाँ स्वीकृत ‘मोडियसो’ क्याप्सुलको रूपमा साप्ताहिक रूपमा सेवन गरिने प्रणालीगत थेरापी हो। यसले ज्याज फर्मास्युटिकल्सको क्यान्सर औषधिको क्षेत्रलाई झनै विस्तार दिएको छ, जहाँ पहिले रक्तक्यान्सर र फोक्सोको क्यान्सरका लागि औषधिहरू थिए।
एफडिएको अनुमतिपूर्व गरिएको पाँचवटा छुट्टाछुट्टै क्लिनिकल परीक्षणमा ५० जना बिरामी सहभागी थिए। अध्ययन अनुसार करिब २२ प्रतिशत बिरामीमा ट्युमरको आकार घटेको पाइएको छ भने औषधिको औसत प्रभावकाल झन्डै १० महिना देखिएको छ।
ज्याज फर्मास्युटिकल्सका प्रमुख चिकित्सा अधिकृत रोब इआन्नोनका अनुसार मोडियसोले उपचारको अभावमा रहेका बिरामीहरूको जीवनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कम्पनीले यो औषधि छिट्टै अमेरिकी बजारमा उपलब्ध गराउने योजना बनाएको छ।
यो औषधि विकासका लागि ज्याजले चाइमेरिक्स नामक कम्पनीलाई करिब ९३५ मिलियन अमेरिकी डलर तिरेर प्रविधि खरिद गरेको थियो। कम्पनीले चिकित्सक, बिरामी तथा अभिभावकहरूसँग सहकार्य गरेर औषधिलाई सहज पहुँचयोग्य बनाउने तयारी गरिरहेको जनाएको छ।