
काठमाडौँ, २०८२ श्रावण २२- नेपालका आर्थिक रूपले कमजोर युवाहरूलाई भारत लगेर मिर्गौला तस्करी गर्ने गिरोहको काठमाडौंमा सक्रिय सञ्जाल भण्डाफोर भएको छ। नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले काठमाडौं र काभ्रेपलाञ्चोकबाट चार जनालाई पक्राउ गरेको छ। गिरोहले रोजगारीको लोभ देखाएर युवाहरूलाई सीमापार पुर्याई अवैध रूपमा मिर्गौला निकाल्ने गरेको खुलेको छ।
पक्राउ परेकामध्ये सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल मिर्गौला तस्करीको प्रत्यक्ष पीडित रहेको खुलेको छ। उनलाई रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइ एक साइडको मिर्गौला निकाली फ्यालिएको थियो। प्रहरी स्रोतका अनुसार भुजेललाई भारतबाट नेपाल फर्काएपछि काठमाडौं बसपार्कमा छाडिएको थियो। उनी केही समय साथीकोमा बसेर पछि घर फर्किएपछि मात्र पेटको घाउ देखाएपछि घटना सार्वजनिक भएको हो।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीका अनुसार प्रारम्भिक अनुसन्धानबाट कम्तीमा ५० जना नेपाली युवाको मिर्गौला भारतको दिल्ली र नोएडामा अवैध रूपमा निकालिएको पुष्टि भएको छ। पक्राउ परेकाहरूले पीडितहरूलाई ५-७ लाख रुपैयाँ दिने भन्दै फकाउने गरेको र कमजोर आर्थिक अवस्था भएका युवाहरूलाई प्राथमिकता दिने गरेको पाइएको छ।
भुजेलको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले एक मिर्गौला नरहेको बताएपछि प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि ब्युरोले डकाहा प्रहरी चौकीको समन्वयमा उनलाई काठमाडौं ल्याएर अनुसन्धान अगाडि बढाएको हो।
पक्राउ परेकामध्ये एक जना नुवाकोटका परियार थरका व्यक्ति रहेको खुलाइएको छ भने अन्य तीन जनाको सनाखत प्रक्रियामा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गिरोह देशभर विभिन्न जिल्लामा फैलिएको हुनसक्ने देखिन्छ र हाल थप व्यक्तिहरूको खोजी तथा निगरानी जारी छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिई अनुसन्धानलाई तीव्र पारेको छ। मिर्गौला तस्करी जस्तो मानव अंगको अवैध कारोबारमा संलग्नलाई कारबाही गर्ने र सञ्जालको जरो फाल्ने उद्देश्यले अनुसन्धानलाई प्राथमिकता दिइएको ब्युरोले जनाएको छ।