Swasthya Awaj
संघीय अस्पतालहरूमा डिजिटल भुक्तानी प्रणाली अनिवार्य, स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, २०८२ साउन २१- संघीय सरकारअन्तर्गत सञ्चालनमा रहेका सबै प्रमुख अस्पतालहरूमा डिजिटल भुक्तानी प्रणाली लागू गर्ने निर्णय भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सबै संघीय अस्पताल र प्रतिष्ठानहरूलाई सेवा वापतको शुल्क अनलाइन वा क्यूआर प्रणालीमार्फत असुल गर्न स्पष्ट निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशनअनुसार अस्पतालमा नगद कारोबारमा हुने ढिलाइ, अपारदर्शिता र अनियमिततालाई अन्त्य गर्न डिजिटल पेमेन्ट प्रणाली लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ। मन्त्री पौडेलको सचिवालयका अनुसार अबदेखि अस्पतालले दिने सेवा वापतको बिल अनलाइन वा क्यूआरमार्फत तिर्न सकिनेछ।

TB

"हामीले सबै संघीय अस्पताललाई भौतिक, वित्तीय तथा प्रशासनिक सेवाहरूमा डिजिटल रुपान्तरणको तयारी गर्न भनेका छौं," मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, "भुक्तानी प्रणाली डिजिटल बनाउने निर्णय स्वास्थ्य सेवामा पारदर्शिता र सहजता ल्याउने उद्देश्यसहित गरिएको हो।"

मन्त्रालयले यससँगै गुणस्तर मापन तथा नियमन महाशाखालाई अनुगमनमा खटाउने तयारी गरेको छ। अस्पतालहरूले मन्त्रालयसमक्ष प्रतिबद्ध गरिएको ९ बुँदे सुधार योजनाको कार्यान्वयन अवस्थाबारे निगरानी गरिनेछ।

यस प्रणाली लागू भएसँगै बिरामी तथा सेवाग्राहीहरूले अब लामो लाइनमा कुर्नुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ। एकीकृत डिजिटल प्रणालीले राजश्व संकलनलाई पारदर्शी बनाउनुका साथै सेवा व्यवस्थापनमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवा डिजिटल रुपान्तरणतर्फ अघि बढ्न थाल्दा केही संघीय अस्पतालमा पूर्वाधारको अभाव र प्रविधिको प्रयोगमा दक्ष जनशक्तिको कमीले चुनौती खडा गर्ने सम्भावना पनि देखिएको छ। तर मन्त्रालयले आवश्यक तालिम, पूर्वाधार र प्रविधि विस्तारका लागि छुट्टै कार्ययोजना बनाउने जनाएको छ।

स्वास्थ्य सेवा सुधारको नाममा थालिएको यो कदम सरकारको डिजिटल नेपाल अभियानसँग पनि जोडिएको छ। अब स्वास्थ्य प्रणाली कति प्रभावकारी रूपमा प्रविधिमैत्री बन्नेछ भन्ने कुराले यस नीतिको सफलतालाई निर्धारण गर्नेछ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update