Swasthya Awaj
देशभर फैलिँदै डेंगु, संक्र*मितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २०८२ श्रावण २०- देशभर डेंगु संक्रमण तीव्र गतिमा फैलँदै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म नेपालका ७४ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ भने संक्रमितको संख्या २ हजार ६३५ पुगेको छ।

पछिल्लो साताको तथ्याङ्कअनुसार १७१ जना नयाँ बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १७ जनामा डेंगु पुष्टि भएको छ।

प्रदेशगत विवरण हेर्दा गण्डकी प्रदेशमा डेंगुको असर सबैभन्दा गम्भीर देखिएको छ। अहिलेसम्म गण्डकीमा ७७९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पछिल्लो सातामा मात्रै यहाँ ५२ जना नयाँ संक्रमित थपिएका छन्।

TB

बागमती प्रदेशमा ५४५ र लुम्बिनी प्रदेशमा ४२३ जनामा संक्रमण देखिएको छ। सुदूरपश्चिममा पनि संक्रमण क्रमशः बढिरहेको छ भने मधेश, कर्णाली र कोशी प्रदेशमा पनि डेंगुका बिरामी फेला परिरहेका छन्।

विशेषज्ञहरूका अनुसार डेंगुको प्रमुख लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मांशपेशी तथा हड्डी दुख्ने, र शरीरमा डम्मा आउने समस्या देखिन्छ। गम्भीर अवस्थामा डेंगु 'ह्यामोरेजिक फिभर' मा परिणत भइ रक्तश्राव, अंग फेल र ज्यानसमेत जानसक्ने खतरा रहन्छ।

हालसम्मको प्रवृत्तिलाई हेर्दा, स्थानीय सरकार र स्वास्थ्य निकायहरूले सचेतनात्मक अभियानमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सरोकारवालाहरू चिन्तित छन्।

विशेषगरी वर्षा याममा लामखुट्टेको बास हुने ठाउँहरू पानी जम्ने भाँडाकुँडा, टायर, फूलदानी आदि हटाउन नसक्दा संक्रमण दर अझै बढ्ने संकेत देखिएको छ।

के गर्न सकिन्छ?

  • घर वरिपरिको सफाइमा विशेष ध्यान दिनु
  • पानी जम्न नदिने उपायहरू अपनाउनु
  • झुलको प्रयोग, लामखुट्टे भगाउने क्रिम प्रयोग गर्नु
  • ज्वरो आएमा आफैं औषधि नखाई तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु
  • विद्यालय र सार्वजनिक स्थानहरूमा जनचेतना कार्यक्रम सञ्चालन गर्नु

ईडीसीडीका अनुसार डेंगु नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गरेर प्रभावित क्षेत्रहरूमा सक्रिय निगरानी तथा जनचेतना अभियान चलाउने योजना बनाइएको छ।

डेंगुको संक्रमण समयमै थाहा पाउने र सावधानी अपनाउने हो भने ज्यान जोगाउन सकिन्छ। तर लापरवाही गरेमा यसको असर गम्भीर हुनसक्छ भन्ने कुरालाई बुझ्न अब ढिला गर्नु हुँदैन।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update