
बागलुङ, २०८२ श्रावण २०- बागलुङको बडिगाड गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पतालमै मिर्गौला रोगका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी थालेको छ। डायलाइसिस सेवा उपलब्ध गराउने यो योजना आधारभूत तहकै अस्पतालमा सम्भवतः देशमै पहिलोपटक सुरु हुन लागेको हो।
गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु १ करोड १ लाख ४४ हजार ८२० बराबरका ५ वटा डायलाइसिस मेसिन उपलब्ध गराइएको छ। यही साउन १ गतेबाट सुरु भएको अस्पतालमा उपकरण आइपुगेपछि सेवा सञ्चालनको तयारी अघि बढाइएको हो।
बडिगाड-५, ग्वालीचौरमा रु १८ करोड लागतमा निर्माण गरिएको नयाँ भवनमा १५ शय्याको अस्पताल हालै सञ्चालनमा आएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्ग नजिकै रहेको यस अस्पतालले अब डायलाइसिस सेवा दिन थालेपछि पश्चिम बागलुङ, गुल्मी, रुकुम र रोल्पाका मिर्गौला बिरामीका लागि सहजता हुने विश्वास गरिएको छ।
अध्यक्ष थापाका अनुसार, सेवा सुरुआतका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भइरहेको छ। प्रारम्भिक चरणमा एक जना मेडिकल अधिकृत र तीन जना स्टाफ नर्सलाई तालिमका लागि पठाउने तयारी छ। यसका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर सँग एक वर्षअघि भएको सम्झौता अनुसार उपकरणहरू प्राप्त भएका हुन्।
शहिद धर्मभक्त केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र अध्यक्ष थापा अधिकारीबीच भएको सम्झौता अनुसार जनशक्ति व्यवस्थापनको विषयमा पनि तयारी भइरहेको छ। डा. श्रेष्ठले आवश्यक अध्ययनपछि केन्द्रबाट प्राविधिक जनशक्ति पठाउने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ।
यसबाहेक, बडिगाडको आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा विन्दुको रूपमा सूचीकृत गरिएको छ। गण्डकी प्रदेश सरकारबाट थप एक जना मेडिकल अधिकृत र संघीय सरकारबाट दुई चिकित्सक तथा तीन स्टाफ नर्सको दरबन्दी समावेश भएको देशभरका ४८ आधारभूत अस्पतालको सूचीमा बडिगाड गाउँपालिकाको अस्पताल पनि पर्न सफल भएको छ।
धवलागिरी अस्पताल बाहेक पश्चिम बागलुङमा अहिलेसम्म डायलाइसिस सेवा उपलब्ध नभएको अवस्थामा बडिगाडमा सुरु हुन लागेको यो सेवा ग्रामीण स्तरमै उच्चस्तरीय उपचारको नयाँ ढोका खोल्ने देखिन्छ। गाउँपालिकाका सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना भइसकेको अवस्थामा अब मिर्गौला उपचारजस्तो गम्भीर सेवा विस्तार गर्नु स्थानीय सरकारको दृढ इच्छाशक्ति र योजनाबद्ध प्रयासको सकारात्मक उदाहरण बनेको छ।
अध्यक्ष थापाका अनुसार, आगामी कात्तिक महिनाभित्रै सेवा सुरु गर्ने लक्ष्य राखिएको छ। यदि सबै तयारी योजना अनुसार अघि बढेमा बडिगाड गाउँपालिकाको यो अस्पताल देशको पहिलो डायलाइसिस सेवा दिने आधारभूत अस्पताल बन्नेछ।