Swasthya Awaj
फार्मेसी सेवामै आन्दोलन, बीपी प्रतिष्ठानले केटीएम सर्भिसेजलाई कारबाहीको चेतावनी

काठमाडौँ, २०८२ साउन १९- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा बन्द भएपछि अस्पताल आएका हजारौं बिरामीहरू औषधि नपाई हैरान भइरहेका छन्। कर्मचारीको आन्दोलनका कारण सेवा अवरुद्ध भएपछि प्रतिष्ठानले केटीएम सर्भिसेज प्रालिलाई तत्काल सेवा सुचारु गर्न आग्रह गरेको छ।

प्रतिष्ठानका सह-प्रवक्ता डा. अभिजीत कुमारद्वारा जारी विज्ञप्तिमा फार्मेसी सेवा अवरुद्ध हुनु तीन वर्षअघि प्रतिष्ठान र केटीएम सर्भिसेजबीच भएको सम्झौताको कार्यान्वयन नहुनुका कारण भएको उल्लेख गरिएको छ।

स्थायी नियुक्तिको माग, सेवा ठप्प

TB

फार्मेसी सेवा तीन वर्षदेखि करारमा रहेका कर्मचारीहरूलाई स्थायी बनाउने, नियमित तलब तथा सुविधा सुनिश्चित गर्ने मागसहित सुरु भएको आन्दोलनले ठप्प बनाएको हो। परिणामस्वरूप, अस्पतालमा उपचारका लागि आएका बिरामीहरूले आवश्यक औषधि बाहिरबाट महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको छ।

प्रतिष्ठानले सार्वजनिक रुपमा फार्मेसी बन्दलाई "अत्यन्त संवेदनशील सार्वजनिक असुविधा" भन्दै तत्काल समाधानको माग गरेको छ। संस्थाले यसले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै गम्भीर चासो व्यक्त गरेको छ।

प्रतिष्ठानको चेतावनी

प्रतिष्ठानले केटीएम सर्भिसेजलाई कडा चेतावनी दिँदै भनेको छ, "यदि सेवा तुरुन्त सञ्चालनमा नआए सम्पूर्ण जिम्मेवारी केटीएम सर्भिसेज प्रालिले लिनुपर्नेछ।" साथै सम्झौता बमोजिम आवश्यक कानुनी कारबाही गरिने स्पष्ट संकेत पनि दिइएको छ।

२०७८ सालमा समेत सार्वजनिक सूचना जारी गर्दै फार्मेसी सेवा निर्बाध बनाउने अनुरोध गरेको स्मरण गराउँदै प्रतिष्ठानले समस्याको समाधानका लागि सम्बन्धित पक्षलाई गम्भीर हुन आग्रह गरेको छ।

अस्पताल व्यवस्थापन र सेवा प्रदायक संस्था बीचको विवादका कारण सर्वसाधारणले औषधि सेवा नपाउनु प्रतिष्ठानकै छवि र बिरामीको स्वास्थ्य सुरक्षामाथि ठूलो चुनौतीका रूपमा देखिएको छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update