
काठमाडौँ, २०८२ साउन १९- नेपाल मेडिकल काउन्सिलले गत १५ र १६ साउनमा सञ्चालन गरेको विशेषज्ञ चिकित्सक बन्ने विशेष परीक्षाको नतिजा यसपटक ऐतिहासिक रुपमा उच्च देखिएको छ। परीक्षामा सहभागीमध्ये ९१.८२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्, जुन अहिलेसम्मकै ‘रेकर्ड तोड’ सफलता दर भएको काउन्सिलले जनाएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षाका लागि १,०७९ जनाले फारम भरेका थिए, जसमा १,०७६ जना परीक्षार्थी सहभागी भए। तीमध्ये ९९८ जनाले परीक्षा उत्तीर्ण गरेका छन् भने ४ जनाको नतिजा वीथहेल्ड (नतिजा रोकिएको) अवस्थामा छ।
गतवर्ष साउन १७ र १८ मा भएको सोही परीक्षामा ९१.४५ प्रतिशतले सफलता हासिल गरेका थिए, जुन यस वर्षको ९१.८२ प्रतिशतको तुलनामा थोरै कम हो। यसपटकको नतिजाले गतवर्षको रेकर्ड तोड्दै ‘ऐतिहासिक सफलता’ दर कायम गरेको हो।
३६ विषयका परीक्षार्थी सहभागी
यसपटकको विशेष परीक्षामा ३६ विभिन्न विषयका परीक्षार्थी सहभागी भएका थिए। परीक्षा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा सञ्चालन गरिएको थियो।
काउन्सिल अध्यक्ष प्रा.डा. चोपलाल भुसालका अनुसार, साउन महिनामा परीक्षा दिने अधिकांश परीक्षार्थी ‘फ्रेश पास आउट’ हुने भएकाले पनि सफलता दर उच्च देखिएको हुन सक्छ। “परीक्षा सामान्य ढंगले सम्पन्न भएको हो, फ्रेस उम्मेदवार भएकाले पास दर बढी भएको हुन सक्छ,” उनले भने।
सजिलो प्रश्न सोधिएर हो त?
नतिजा उच्च आउँदा कतिपयले परीक्षा सजिलो थियो कि भन्ने आशंका व्यक्त गरे पनि अध्यक्ष डा. भुसालले प्रश्नपत्र विज्ञ टोलीले तयार गरेको प्रणालीबाट आएको स्पष्ट पारे। “पढेका व्यक्तिलाई सजिलो लाग्न सक्छ तर प्रश्न त सिस्टमअनुसार नै तयार गरिएको हो,” उनले भने।
नेपाल मेडिकल काउन्सिलको यो परीक्षा उत्तीर्ण गरेपछि चिकित्सकलाई विशेषज्ञको रुपमा कानुनी मान्यता प्राप्त हुन्छ। पछिल्लो नतिजाले नेपाली चिकित्सा शिक्षा प्रणालीमा तयारी, पाठ्यक्रम र परीक्षाको गुणस्तरसम्बन्धी बहस पनि पुनः तीव्र पार्ने देखिएको छ।