Swasthya Awaj
कर्णाली प्रदेश अस्पताल तीन सातादेखि निर्देशकबिहीन, सेवा प्रवाहमा असर

वीरेन्द्रनगर, २०८२ साउन १९- कर्णाली प्रदेश अस्पतालमा तीन साता बितिसक्दा पनि नयाँ निर्देशकको नियुक्ति नहुँदा अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित भएको छ। पूर्व निर्देशक डा. केशरबहादुर ढकाल असार २४ गतेसम्म अस्पतालमा कार्यरत रहे पनि साउन १ गतेदेखि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा हाजिर भएपछि अस्पताल नेतृत्वविहीन बनेको हो।

डा. ढकालको स्थानमा अस्पतालका वरिष्ठ चिकित्सक डा. गणेश थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। तर, उनलाई आर्थिक अधिकार नदिई अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था छ। अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार, आर्थिक अधिकार अभावले अस्पतालमा तलब वितरण, करार कर्मचारी म्याद थप, र अत्यावश्यक सामग्री खरिदमा समस्या भइरहेको छ।

TB

‘निमित्त निर्देशकलाई आर्थिक अधिकार नदिँदा अस्पतालका लागि अति आवश्यक सामग्री उधारोमा खरिद गर्नुपरेको छ,’ बस्नेतले जानकारी दिए। उनका अनुसार, अन्य नियमित सेवा भने सञ्चालन भइरहेका छन्।

यो अवस्था पहिलो पटक भने होइन। गत वर्ष कात्तिक १० गते तत्कालीन निर्देशक डा. डम्बर खड्का सेवा निवृत्त भएपछि पनि अस्पताल लामो समयसम्म निर्देशकबिना चलाइएको थियो। त्यसबेला पनि डा. थापालाई नै निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो। पछि मङ्सिर २ गते डा. केशरबहादुर ढकाललाई निर्देशक नियुक्त गरिएको थियो।

डा. ढकालले करिब आठ महिना अस्पतालको नेतृत्व सम्हालेका थिए। तर, उनको बढुवापछि अहिले फेरि नेतृत्व रिक्त छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सचिवको पद रिक्त भएकोले नयाँ निर्देशक नियुक्ति प्रक्रिया रोकिएको बताए। ‘संघीय सरकारले सचिव खटाएपछि मात्र अस्पताल निर्देशकको छनोट प्रक्रिया अघि बढ्छ,’ मन्त्री भण्डारीले स्पष्ट पारे।

अस्पतालको प्रभावकारी सेवा प्रवाहका लागि छिटो नयाँ निर्देशक नियुक्त गर्नुपर्ने आवाज उठ्न थालेको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्तो नेतृत्वको खालीपनले सेवा प्रभावित हुने खतरा देखिएको स्थानीयवासीको भनाइ छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update