
काठमाडौँ, २०८२ साउन १९- चालु आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, जनशक्ति विस्तार र नयाँ कार्यक्रमसम्बन्धी विषयमा अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयसँग उच्चस्तरीय छलफल गरिएको छ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सहभागी थिए। दुवै मन्त्रालयका सचिव र अन्य अधिकारीहरूको सहभागितामा स्वास्थ्य क्षेत्रमा देखिएको आवश्यकता, आगामी योजना र स्रोत व्यवस्थापनका विषयमा विस्तृत चर्चा भएको हो।
स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा डाक्टर, नर्सलगायतका २ हजार १०२ जनशक्ति थप गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरेको थियो। मन्त्री प्रदीप पौडेलले २०४८ सालयता दरबन्दी नथपिएको, जनसंख्या वृद्धिसँगै स्वास्थ्य सेवा माग बढ्दो रहेको र जटिल रोगहरूको उपचारका लागि संघीय तहमा सेवा विस्तार गर्नु अपरिहार्य भइसकेको बताए।
स्वास्थ्य मन्त्रीको तर्कलाई अर्थमन्त्री पौडेलले सकारात्मक रूपमा लिँदै डाक्टर, नर्स र प्राविधिक जनशक्ति थप्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनले प्रशासनिक दरबन्दीका विषयमा भने अझ थप परामर्श आवश्यक रहेको बताएका छन्।
छलफलमा सहभागी एक कर्मचारीका अनुसार, “स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष जनशक्ति अत्यावश्यक भएको अर्थमन्त्रीले स्पष्ट गर्नुभयो। जनशक्ति थपबारे थप स्पष्टता लिएर अघि बढ्न सुझाव दिनुभएको छ।”
स्वास्थ्य मन्त्रालयले यसअघि पठाएको दरबन्दी प्रस्तावमा अर्थ मन्त्रालयले केही प्रश्न राख्दै थप विवरण मागेको थियो। मन्त्रालयले अब ती विवरण समेटेर पत्राचार गरिसकेको बताइएको छ।
छलफलमा स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा, बालबालिकालाई निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था, भक्तपुरको दुवाकोटमा बन्ने वीर अस्पतालको डीपीआर र जलन उपचार सेवाजस्ता विषयहरू पनि उठान गरिएको थियो।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अब संघीय अस्पतालहरूमा विशेषज्ञ सेवाको पहुँच विस्तार, बीमा कार्यक्रम सुदृढीकरण, र जनशक्ति अभाव हटाउन बजेट र नीति दुवै पक्षबाट काम अघि बढाइनेछ।