Swasthya Awaj
मधेसमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै, ७ लाख ८० हजारभन्दा धेरैले लिए सदस्यता

काठमाडौँ, २०८२ साउन १९- मधेस प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या सात लाख ८० हजारको नजिक पुगेको छ। स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ बनाउने उद्देश्यले सरकारद्वारा सञ्चालनमा ल्याइएको बीमा योजनाप्रति नागरिकको चासो बढ्दै गएको छ।

स्वास्थ्य बीमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाका अनुसार साउन १६ गतेसम्ममा आठवटै जिल्लाका ७ लाख ७९ हजार २६५ नागरिक बीमा योजनामा आवद्ध भइसकेका छन्। यो सङ्ख्या प्रदेशको कूल जनसंख्याको करिब १३ प्रतिशत हो। राष्ट्रिय जनगणना २०७८ अनुसार मधेसमा करिब ६१ लाख १४ हजारभन्दा बढी जनसंख्या छ।

TB

प्रदेश सरकारको सहयोगमा मधेसका सहिद परिवारहरूलाई निःशुल्क बीमा गरिने व्यवस्था गरिएको छ। विगत आर्थिक वर्षमा सरकारले विनियोजन गरेको ४० लाख रुपैयाँको बजेटमार्फत केही सहिद परिवारलाई बीमा कार्यक्रमभित्र ल्याइएको संयोजक कुशवाहाले बताए। यद्यपि, सबै सहिद परिवारको पहिचान नहुनु, ठेगाना यकिन नहुनु र बसाइँसराइ जस्ता कारणले सबैलाई समेट्न कठिनाई भइरहेको छ।

स्वास्थ्य बीमा अन्तर्गत क्यान्सर, मुटु रोग, डायलासिस, मस्तिष्क र मेरुदण्ड सम्बन्धी चोटपटक जस्ता जटिल रोगहरूको उपचार खर्चलाई ध्यानमा राख्दै प्रमाणको आधारमा बीमा सीमा थप गरेर एक लाख रुपैयाँसम्म पुर्‍याइएको छ।

प्रदेशभर रहेका बीमा दर्ता सहयोगीहरूलाई घरदैलोमै खटाएर नागरिकहरूलाई बीमामा सहभागी गराउने अभियान जारी छ। संयोजक कुशवाहाका अनुसार स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी अभियानलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।

मधेस प्रदेशका आधारभूत अस्पतालहरूलाई समेत स्वास्थ्य बीमा सेवाभित्र ल्याउने प्रक्रिया अघि बढाइएको छ। नियमित नवीकरण गर्ने सेवाग्राहीका लागि बीमा शुल्कमा सहुलियत व्यवस्था पनि गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रम मधेस प्रदेशमा सन् २०१६ (वि.सं. २०७३) देखि सुरु भएको हो। २०७५ सालदेखि भने प्रदेशका सबै जिल्लामा यसको सेवा विस्तार गरिएको थियो। यतिबेला प्रदेशका अधिकांश जिल्लामा नागरिकको सहभागिता उल्लेखनीय देखिन थालेको छ।
 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update