Swasthya Awaj
एपोन नेतृत्व चयनका लागि ६४ संस्थाले पाउनेछन् मताधिकार

काठमाडौँ, २०८२ साउन १९- नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१औँ वार्षिक साधारण सभा आज काठमाडौँमा हुँदैछ। यस सभाबाट संघको नयाँ १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। अध्यक्ष पदमा दुई उम्मेदवारसहित कुल १७ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिका अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित सात पदाधिकारी र छ जना सदस्य पदका लागि निर्वाचन हुनेछ। संघको विधान संशोधनसँगै यस पटक एक अतिरिक्त सचिव र सदस्य थपिएको हो।

TB

निर्वाचन समितिका संयोजक प्रज्वलजंग पाण्डेका अनुसार यस वर्ष ६४ वटा औषधि उत्पादन कम्पनीहरुले मतदानमा भाग लिन पाउनेछन्। ती संस्थाका मान्यता प्राप्त प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरी नयाँ नेतृत्व चयन गर्नेछन्।

निर्वाचन प्रक्रिया
आज बिहान ११ बजेसम्म सहमति कायम हुन नसके दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु गरिने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्न प्रयास जारी राखेको बताएको छ।

एपोनको यो साधारण सभा दुई महिना अगावै बोलाइएको हो। हालका अध्यक्ष महेश प्रधानको कार्यकाल असोज २६ मा समाप्त हुँदैछ। 

हेर्नुहोस् एपोनको मताधिकार संस्थाहरु

 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update