Swasthya Awaj
एपोनमा नयाँ नेतृत्व चयनको तयारी : अध्यक्षमा विप्लव अधिकारी र दीपक दाहालबीच प्रतिस्पर्धा

काठमाडौँ, २०८२ साउन १९- नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१औँ वार्षिक साधारण सभा आगामी सोमबार हुँदैछ, जसले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदमा दुई जना उम्मेदवारसहित कुल १७ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन समिति संयोजक प्रज्वलजंग पाण्डेका अनुसार अध्यक्ष पदमा विप्लव अधिकारी र दीपक दाहालले उम्मेदवारी दिएका छन्। अधिकारी संघका पूर्व महासचिव हुन् भने दाहाल पूर्व अध्यक्ष हुन्।

TB

सदस्य पदका लागि उम्मेदवारी दिनेमा प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश र नवराज पौडेल रहेका छन्। त्यसैगरी शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वीराज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवन दाहालले पनि सदस्य पदमा उम्मेदवारी दिएका छन्।

एपोनको संशोधित विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ७ पदाधिकारी र ६ जना सदस्य रहने व्यवस्था छ। यसै संशोधनमार्फत यस पटक सचिव र एक सदस्य थप गरिँदै कुल १३ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिनेछ। निर्वाचित अध्यक्षले अन्य पदाधिकारी चयन गर्नेछन्।

हालसम्म १७ जनाको उम्मेदवारी परेपनि सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समय निर्धारण गरिएको छ। सहमति नजुटेमा मतदानबाट निर्णय गरिने निर्वाचन समितिले जनाएको छ। संघमा हाल मताधिकार प्राप्त सदस्य संख्या ६४ रहेको छ।

एकजना पूर्व पदाधिकारीका अनुसार सहमतिको प्रयास अझै जारी छ। “१२–१३ घण्टा बाँकी छ, सहमतिका लागि प्रयास जारी छ,” उनले भने।

हालका अध्यक्ष महेश प्रधानको कार्यकाल आगामी असोज २६ गते समाप्त हुँदैछ। तर, नयाँ कार्यसमिति चयनका लागि यस पटक दुई महिना सात दिनअघि नै वार्षिक साधारण सभा आह्वान गरिएको हो।
 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update