
काठमाडौँ, २०८२ साउन १६- बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत एक कर्मचारी यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। ३१ वर्षीय सुवास गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घटना शुक्रबार अस्पतालभित्रै एक्सरे गर्ने क्रममा भएको बताइएको छ। पीडित १७ वर्षीया किशोरीले एक्सरे गरिसकेपछि लुगा लगाउने क्रममा गौतमले संवेदनशील अंगमा हात लगाएको उजुरी दिएकी थिइन्। उजुरीको आधारमा प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार, शनिबार सार्वजनिक बिदा परेकाले आइतबार म्याद थप गरी थप अनुसन्धान थालिएको छ। “शुक्रबार घटना भएको थियो। हाल बाल यौन दुर्व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ,” उनले भने।
यस घटनाले अस्पतालभित्रै यौनजन्य हिंसा हुने स्थिति प्रति गम्भीर प्रश्न उठाएको छ। चिकित्सकीय सेवा पाउने ठाउँमै यस्ता घटनाले बिरामी र सेवाग्राहीको सुरक्षामा गम्भीर चुनौती थपिएको छ।
साथै, अस्पताल प्रशासन, प्रहरी र सरोकारवाला निकायले पीडितको गोपनीयता र न्याय सुनिश्चित गर्ने दायित्व पनि थप चनाखो तरिकाले निर्वाह गर्नुपर्ने देखिएको छ।
घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारवाहीको माग तीव्र रुपमा उठ्न थालेको छ। स्वास्थ्य सेवा क्षेत्रमा काम गर्नेहरूले सेवा मात्र होइन, आचरण पनि शुद्ध र सुरक्षित बनाउनुपर्छ भन्ने सन्देश यस घटनाले दिएको छ।