
काठमाडौँ, २०८२ श्रावण १८- हालैका दिनमा भारत र चीनमा तीव्ररूपमा फैलिरहेको चिकुनगुनिया भाइरसको संक्रमणले नेपाली स्वास्थ्य क्षेत्रलाई पनि सतर्क बनाएको छ। डेंगुको चर्चाले सबैको ध्यान तानिरहेकै बेला यही एडिस जातको लामखुट्टेबाट सर्ने अर्को भाइरस ‘चिकुनगुनिया’ पनि पुनः सक्रिय हुने संकेत देखिएको छ।
भारतका विभिन्न राज्यमा दैनिक संक्रमण बढ्दो छ भने चीनमा भने भाइरस महामारीकै स्वरूप लिएको बताइएको छ। अमेरिकी रोग नियन्त्रण केन्द्र (CDC) ले चीन भ्रमणमा जाने आफ्ना नागरिकलाई ट्राभल नोटिससमेत जारी गरिसकेको छ। चीनमा मात्रै जुलाईयता करिब पाँच हजार संक्रमित पुष्टि भइसकेका छन्।
नेपालमा पनि यो भाइरस पहिलो पटक एक दशकअघि नै देखिएको थियो। सन् २०१३ मा गरिएको अनुसन्धानबाट चिकुनगुनिया भाइरस नेपालमा पुष्टि भएको थियो। तर, पछिल्ला वर्षहरूमा यो भाइरसको परीक्षण सरकारी प्रयोगशालाहरूमा ठप्प प्रायः छ। डेंगु परीक्षणमा नकारात्मक देखिएका तर लक्षण मिल्दोबमोजिमका बिरामीहरूमा चिकुनगुनिया हुनसक्ने अनुमानलाई पुष्टि गर्ने आधार भने अभावमा छ।
चिकुनगुनियाका लक्षणहरू
अचानक ज्वरो आउनु, जोर्नी तथा मांसपेशीमा तीव्र दुखाइ, टाउको दुख्नु, वाकवाक लाग्नु र छालामा बिमिरा देखिनु यसको सामान्य लक्षण हुन्। विशेषतः जोर्नीको दुखाइ लामो समयसम्म — कहिलेकाहीँ तीन वर्षभन्दा बढी रहने पाइएको छ।
डेंगुजस्तै, तर बेग्लै चिन्ता
डेंगु र चिकुनगुनिया दुवै एडिस लामखुट्टेबाट सर्ने हुँदा यिनीहरू एकै समयमा प्रकोपको रूपमा देखा पर्न सक्छन्। तर उपचार विधि फरक हुने भएकाले यिनीहरूलाई छुट्याउनु जरुरी छ। नेपालमा डेंगु परीक्षणमा ध्यान दिइए पनि चिकुनगुनियाको परीक्षण हाल नगर्ने गरिएको छ, जसले साँचो अवस्था थाहा पाउन गाह्रो बनाएको छ।
खोप उपलब्ध, तर नेपालमा अस्पष्टता
अहिले अमेरिकाले खोप लगाउन सल्लाह दिइरहेको भए पनि नेपालमा भने चिकुनगुनियाविरुद्धको खोपको अवस्था अस्पष्ट छ। भाइरसविरुद्धको कुनै निश्चित औषधि छैन, उपचार लक्षणका आधारमा मात्र हुन्छ।
नेपाल कति तयारी अवस्थामा छ?
विश्व स्वास्थ्य संगठनले महामारीको चेतावनी दिइसकेको अवस्थामा नेपालमा यसको जोखिमलाई कम आँक्न मिल्दैन। डेंगुजस्तै यसको पनि रोकथामका लागि लामखुट्टेको नियन्त्रण, लार्भा नष्ट गर्ने अभियान र परीक्षणको पुनः सुरुवात आवश्यक देखिन्छ।
नेपालका केही स्वास्थ्य विज्ञहरूले पनि एडिस लामखुट्टेमा चिकुनगुनिया भाइरस पाइने गरेको स्वीकार गरिसकेका छन्। त्यसैले अब सरकारले यसप्रति पनि समान गम्भीरता देखाउन आवश्यक छ।
छिमेकी मुलुकहरूमा फैलँदो संक्रमणको सन्दर्भमा नेपाल सतर्क रहनुपर्ने बेला आएको छ। परीक्षण पुनः सुरु गरिनु, तथ्यांक संकलन गरिनु र जनचेतना फैलाइनु अहिलेको पहिलो आवश्यकता हो। डेंगुको सन्दर्भमा भइरहेको तयारीलाई चिकुनगुनियासम्म विस्तार नगरेसम्म सम्भावित स्वास्थ्य संकट नियन्त्रण बाहिर जान सक्ने खतरा रहन्छ।