Swasthya Awaj
न्याम्सलाई राहत: वीर अस्पताल अझै सात वर्षसम्म शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न पाउने

काठमाडौँ, २०८२ श्रावण १८- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालबीचको सम्बन्धलाई लिएर विगत केही वर्षदेखि चल्दै आएको अन्योल अन्ततः हटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण गरिएको नयाँ कानुनी संशोधनले न्याम्सलाई वीर अस्पताललाई आगामी सात वर्षसम्म शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने व्यवस्था गरेको छ।

संसदको दुबै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको "केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८२" गत १४ साउनमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा महत्वपूर्ण संशोधन भएको हो। विशेषगरी ऐनको दफा १४ को उपदफा (१) र (२) मा परिवर्तन गरी प्रतिष्ठानले वीर अस्पताललाई ७ वर्षसम्म शिक्षण प्रयोगका लागि प्रयोग गर्न सक्ने प्रावधान थपिएको छ।

यो व्यवस्था लागू भएसँगै न्याम्सका शैक्षिक कार्यक्रम, विशेष गरी प्रयोगात्मक अभ्यासमा पर्ने असहजतालाई केही वर्षका लागि समाधान मिलेको छ। यसअघि वीर र न्याम्सलाई छुट्याउने वा नछुट्याउने भन्ने विषयमा संसद, संसदीय समिति र विज्ञहरूबीच निरन्तर बहस हुँदै आएको थियो।

TB

कानुनविद्हरूको भनाइमा, यो परिवर्तनले एकातिर न्याम्सलाई तयारीको समय दिन्छ भने अर्कातिर वीर अस्पतालमा भइरहेको शिक्षण सेवा निरन्तरता दिन सहयोग पुग्नेछ। शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा यसले स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

यस निर्णयलाई चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी, प्रशिक्षक तथा व्यवस्थापन पक्षले स्वागत गरेका छन्। तथापि, सात वर्षपछि के गर्ने भन्ने स्पष्ट योजना नआएसम्म दीर्घकालीन समाधान भने अझै खुला विषयकै रूपमा रहनेछ।

हेर्नुहोस् संसोधित दफा

संसोधन अघिको दफा १४ मा के थियो ?

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update