Swasthya Awaj
रूसको पहिलो व्यक्तिगत क्यान्सर खोप केही महिनामै प्रयोगमा, एआईको सहयोगमा ट्युमर लक्षित उपचारको तयारी

एजेन्सी २०८२, साउन १८- क्यान्सरजस्तो जटिल र घातक रोगविरुद्धको लडाइँमा रूसले ऐतिहासिक फड्को मार्ने तयारी गरेको छ। गमालेया इपिडिमियोलोजी तथा माइक्रोबायोलोजी रिसर्च इन्स्टिच्युटका निर्देशक अलेक्जेन्डर जिन्त्सबुर्गले रूसमा विकास गरिएको पहिलो व्यक्तिगत क्यान्सर खोप आगामी केही महिनामै प्रयोगमा ल्याइने घोषणा गरेका छन्।

उनका अनुसार यो खोप व्यक्तिगत रूपमा डिजाइन गरिएको, कृत्रिम बौद्धिकता (एआई) को सहयोगमा बनाइएको र म्यासेन्जर आरएनए (mRNA) प्रविधिमा आधारित हो। खोप बिरामीको आफ्नै ट्युमरसम्बन्धी जेनेटिक डाटाको प्रयोग गरेर विशेष रूपमा तयार गरिने भएकाले प्रत्येक बिरामीका लागि फरक खालको खोप हुने छ।

प्रारम्भिक परीक्षण मेलानोमा बिरामीमाथि

TB

खोपको प्रयोगात्मक चरण मस्कोस्थित हर्ट्सेन अनुसन्धान संस्थान र ब्लोखिन क्यान्सर केन्द्रसँगको सहकार्यमा सुरु गरिनेछ। प्रारम्भमा छालाको क्यान्सर (मेलानोमा) भएका बिरामीहरूमा खोप परीक्षण गरिने र त्यसपछिको प्रयोगको दायरा क्रमशः फराकिलो बनाइने योजना छ।

“यो उपचार पूर्णतया व्यक्तिगत हुनेछ, जसमा ट्युमरबाट लिइएको एन्टिजेन डेटा प्रयोग गरी खोप तयार पारिन्छ,” जिन्त्सबुर्गले बताए। “यसले बिरामीको प्रतिरक्षा प्रणालीलाई ट्युमर चिन्न र त्यसविरुद्ध लड्न सिकाउँछ।”

एक हप्तामै खोप तयार गर्न सकिने

खोप विकासको प्रक्रिया अत्याधुनिक प्रविधिबाट यति तीव्र बनाइएको छ कि बिरामीको ट्युमरको विश्लेषणदेखि खोप निर्माणसम्मको सम्पूर्ण प्रक्रिया करिब एक हप्तामा पूरा गर्न सकिने बताइएको छ। खोप उत्पादनको जिम्मा गमालेया रिसर्च इन्स्टिच्युटले लिनेछ भने बिरामीमा परीक्षण सम्बद्ध क्लिनिकहरूले सञ्चालन गर्नेछन्।

अन्य क्यान्सरहरूका लागि पनि तयारी

खोपको प्रारम्भिक सफलतापछि रूसी वैज्ञानिकहरू अहिले प्यानक्रियाटिक, मिर्गाैला र नन-स्मल सेल लङ क्यान्सरजस्ता मृत्युदर अत्यधिक भएका क्यान्सर प्रकारका लागि पनि यसै मोडेलमा उपचार विधि विकास गरिरहेका छन्।

विशेष नियामक प्रणालीमार्फत प्रयोग

रूसी सरकारले यस खोपको परीक्षण र कार्यान्वयनका लागि विशेष नियामक प्रणाली लागू गरेको छ, जसले सामान्य औषधिको अनुमोदन प्रक्रियाभन्दा फरक मार्ग अपनाएको छ। “हामी स्वास्थ्य मन्त्रालयसँग नजिकबाट काम गर्दैछौं,” जिन्त्सबुर्गले भने।

अन्तर्राष्ट्रिय चासो र सम्भावना

विश्वमा क्यान्सरका बिरामीहरूको संख्या तीव्र गतिमा बढिरहेको सन्दर्भमा यो व्यक्तिगत खोप प्रणालीले भविष्यको क्यान्सर उपचारमा नयाँ आयाम थप्ने आशा गरिएको छ। रूसी स्वास्थ्य मन्त्रालयका अनुसार देशमा वार्षिक ६ लाख २५ हजार नयाँ क्यान्सर बिरामी थपिने गरेका छन्। यदि यो खोप सुरक्षित र प्रभावकारी प्रमाणित भयो भने यो सार्वजनिक स्वास्थ्य क्षेत्रको ऐतिहासिक सफलता बन्नेछ।

जिन्त्सबुर्गले यस परियोजनाप्रति अन्तर्राष्ट्रिय मेडिकल संस्थाहरूले पनि चासो देखाएको र सहकार्यको प्रस्ताव आउन थालेको जानकारी दिएका छन्।

कोभिड महामारीका बेला पहिलोपटक चर्चामा आएको गमालेया रिसर्च केन्द्र अब विश्वकै पहिलो व्यक्तिगत क्यान्सर खोपमार्फत फेरि चर्चा बटुल्न लागिरहेको छ। सफलतापूर्वक कार्यान्वयन भएमा, यो विश्वव्यापी रूपमा क्यान्सर उपचारको paradigmatic shift को सुरुवात मानिनेछ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update