Swasthya Awaj
चितवनमा डेंगु र स्क्रब टाइफसको दोहोरो संक्रमण, स्वास्थ्य सतर्कता आवश्यक

चितवन, २०८२ साउन १५- चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण तीव्र गतिमा फैलिन थालेपछि स्वास्थ्य कार्यालयले जनस्वास्थ्य सचेतना अभियानलाई तीव्र बनाएको छ। साउन महिनाको पहिलो १५ दिनमै २० जनामा डेंगु र ३२ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार, ७९८ जनाको परीक्षण गर्दा डेंगुका २० जना संक्रमित भेटिएका हुन्। तीमध्ये १४ जना चितवनका र ६ जना अन्य जिल्लाबाट आएका हुन्। भरतपुर, खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा संक्रमण देखिएको छ भने संक्रमितमा महिला संख्या पुरुषभन्दा बढी रहेको छ।

TB

स्वास्थ्य अधिकारीहरूले लगातार वर्षा र घामका कारण एडिस जातको लामखुट्टे सक्रिय भएकाले संक्रमणको जोखिम उच्च रहेको बताएका छन्। डेंगुबाट बच्न सफा पानी नजम्ने व्यवस्था, शरीर ढाक्ने कपडाको प्रयोग, मच्छरदानी र लामखुट्टे भगाउने उपायहरू अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, स्क्रब टाइफस संक्रमण पनि बढ्दो क्रममा छ। प्रमुख दिनेश रुपाखेतीका अनुसार स्क्रब टाइफस मुसामा पाइने माइटको टोकाइबाट सर्ने रोग हो र मानिसबाट मानिसमा सर्दैन। खेतबारी, झाडी, वन क्षेत्र वा फोहोर ठाउँमा काम गर्नेहरूले विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ।

रोगका लक्षणहरूमा उच्च ज्वरो, आँखा रातो हुने, पसिना आउने, झाडापखाला लाग्ने, शरीरका अङ्गहरू प्रभावित हुने र टोकिएको ठाउँमा रातो-कालो दाग देखिनु आदि प्रमुख छन्।

जनस्वास्थ्य कार्यालयले चितवनका बासिन्दालाई कुनै लक्षण देखिएमा ढिलो नगरी नजिकको स्वास्थ्य संस्था पुग्न आग्रह गरेको छ। साथसाथै लामखुट्टेको बासस्थान नष्ट गर्ने र माइटबाट बच्न सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update