Swasthya Awaj
पाटन अस्पतालमा स्तरोन्नतिको तयारी, १२०० शय्याको अत्याधुनिक सेवा लक्ष्य

ललितपुर, २०८२ साउन १६- ललितपुरको पाटन विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित पाटन अस्पताललाई १२०० शय्याको आधुनिक सुविधा सम्पन्न अस्पतालमा स्तरोन्नति गर्ने तयारी भएको छ। हाल ६०० शय्यामा सञ्चालित अस्पताललाई दोब्बर क्षमतामा विस्तार गर्न आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनको राय-सुझाव संकलन कार्य अघि बढाइएको छ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानको अध्यक्षतामा बसेको बैठकले अस्पताल स्तरोन्नतिको प्रस्तावलाई सकारात्मक संकेत दिँदै वातावरणीय सन्तुलन कायम राख्ने पूर्वाधार निर्माणमा जोड दिन सुझाव दिएको हो। सहसचिव प्रधानले पाटन अस्पतालको सेवा क्षेत्र दिनप्रतिदिन विस्तार भइरहेको भन्दै निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

TB

पाटन अस्पताल ललितपुर महानगरपालिका-५ स्थित ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ। यसले दैनिक २ हजारभन्दा बढी ओपिडी सेवाग्राही र ६०० भर्ना बिरामीलाई सेवा दिँदै आएको छ। बिरामीको चाप बढेसँगै संरचनात्मक विस्तार अपरिहार्य भएको रजिष्ट्रार प्रा. डा. पारसकुमार आचार्यले बताएका छन्।

अस्पतालको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारिरहेको नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प्रालि (NRAC) का प्रमुख डा. ज्योतिप्रसाद गजुरेलका अनुसार प्रस्तावित संरचना आठतले भवन हुनेछ, जसमा डबल बेसमेन्ट र अत्याधुनिक सेवा प्रविधिहरू समावेश हुनेछन्। निर्माणका क्रममा अस्पतालको फोहोर व्यवस्थापन, सवारी व्यवस्थापन र वातावरणमैत्री डिजाइनलाई विशेष प्राथमिकता दिइने उनले जानकारी दिए।

उपसचिव तथा राय-सुझाव समिति सदस्यसचिव रमेशबहादुर बस्नेतले वातावरणमैत्री अस्पताल निर्माणका लागि प्रतिवेदनले स्पष्ट खाका तयार गर्ने बताए। नयाँ भवन निर्माणमा करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

भविष्यमा सबैखाले स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित अगाडि बढाइएको यो परियोजना कार्यान्वयनमा आएपछि पाटन अस्पताल काठमाडौं उपत्यकामा नै एक प्रमुख सुपर स्पेशालिटी स्वास्थ्य केन्द्रको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update