
काठमाडौँ, २०८२ साउन १६- कामकाजी आमाहरूका लागि राहतको विषय बन्ने गरी नर्भिक इन्टरनेशनल अस्पतालले पहिलोपटक स्तनपानसम्बन्धी परामर्श सेवा सुरु गरेको छ। शिशुलाई स्तनपान गराउँदा आउने विविध समस्या समाधान गर्ने उद्देश्यले अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।
अस्पतालमा ल्याक्टेसन कन्सल्टेन्टको रूपमा कार्यरत साफिया खातुनका अनुसार स्तनपानसम्बन्धी जानकारी, परामर्श तथा व्यवहारिक सहयोग प्रदान गरिनेछ। उनले भनिन्, "कामकाजी महिलाले स्तनपानलाई कसरी निरन्तरता दिने, घर र अफिसबीच सन्तुलन कसरी मिलाउने, स्तनपान गराउँदा हुने असहजता र समस्याको समाधान कसरी गर्ने भन्नेबारे हामी मार्गदर्शन गर्छौं।"
परामर्श सेवाअन्तर्गत स्तनमा हुने समस्या समाधान गर्न जापानी प्रविधिमा आधारित ‘म्यानुअल मसाज’ सेवा उपलब्ध गराइएको छ। साथै, दूध उत्पादन बढाउन, केही समय अवरोध भए पनि पुनः स्तनपान सुरु गर्न चाहने महिलाहरूका लागि उपयोगी अभ्यास र विधिहरूसमेत सिकाइने अस्पतालले जनाएको छ।
यो सेवा आइतबारदेखि शुक्रबारसम्म दिउँसो १२ बजेदेखि ४ बजेसम्म उपलब्ध हुनेछ। साथै, स्तनपान सप्ताहको अवसरमा नर्भिक अस्पतालले यही साउन २१ गते गर्भवती महिला र आमाहरूका लागि विशेष स्तनपान सचेतना कार्यक्रम पनि आयोजना गर्ने भएको छ।
कार्यक्रममा सहभागी हुन चाहनेहरूले नर्भिक अस्पतालको फोन नम्बर ०१-५९७००३२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
नेपालमा शिशु जन्मेपछि एक घण्टाभित्र स्तनपान गराउने आमाहरूको प्रतिशत स्थिर देखिए पनि ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या भने घट्दो क्रममा छ। नेपाल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार सन् २०१६ र २०२२ मा जन्मेका शिशुमध्ये ५५ प्रतिशतले एक घण्टाभित्र स्तनपान पाएका थिए, तर ६ महिनासम्म मात्र स्तनपान गराउनेको संख्या सन् २०१६ मा ६६ प्रतिशतबाट घटेर २०२२ मा ५६ प्रतिशतमा झरेको देखिन्छ।
नर्भिक अस्पतालको यो पहलले स्तनपानको महत्वलाई पुनः जोड दिने र आमाहरूलाई व्यवहारिक सहयोग पुर्याउने विश्वास लिइएको छ।