Swasthya Awaj
काठमाडौंमा शिक्षण अस्पताल सञ्चालनमा, सर्वसाधारणका लागि सस्तो र सुलभ सेवा घोषणा

काठमाडौँ, २०८२ साउन १६- काठमाडौं उपत्यकामा एक समयदेखि सेवा अवरुद्ध अवस्थामा रहेको शिक्षण अस्पतालले फेरि औपचारिक रूपमा सेवा सुरु गरेको छ। शुक्रबारदेखि नयाँ व्यवस्थापनको संयोजनमा सुरु भएको यो स्वास्थ्य संस्थाले प्रारम्भिक चरणमा निःशुल्क विशेषज्ञ सेवा र अत्यन्त सहुलियतपूर्ण दरमा अन्य स्वास्थ्य सेवाहरू प्रदान गर्न थालेको छ।

अस्पतालको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले काठमाडौंमा नागरिकलाई गुणस्तरीय र सुलभ सेवा दिन नयाँ अस्पतालको सञ्चालन महत्त्वपूर्ण भएको उल्लेख गर्दै सरकार जनहितका यस्ता प्रयासमा सकारात्मक सहयोगी रहने प्रतिबद्धता जनाए। उनले भने, "सार्वजनिक हितमा गरिने यस्ता कार्यक्रमले प्रदेशको स्वास्थ्य प्रणाली मजबुत बनाउन सहयोग पुर्‍याउँछ।"

TB

अस्पतालका अध्यक्ष बसुरुद्दिन अन्सारीका अनुसार, नयाँ व्यवस्थापनले सरकारी दरभन्दा थोरै बढी र निजी अस्पतालहरूको तुलनामा अत्यधिक सस्तो दरमा सेवा उपलब्ध गराउने नीति लिएको छ। उनले भने, "हामी जनतामुखी र शैक्षिक दृष्टिले बलियो अस्पताल निर्माणतर्फ अग्रसर छौं। सेवा शुल्क निजी अस्पतालको तुलनामा झण्डै ८० प्रतिशतसम्म सस्तो हुनेछ।"

अस्पतालले सुरुमा जेनेरल मेडिसिन, सर्जरी, स्त्रीरोग, बालरोग, हाडजोर्नी, मानसिक स्वास्थ्य, छाला तथा यौनरोग, नाक-कान-घाँटी, आँखा, मुटु, मिर्गौला, र नसा सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ।

व्यवस्थापक दिलिप साहका अनुसार, एम्बुलेन्स, ल्याब, एक्स-रे, अल्ट्रासाउण्ड, फिजियोथेरापी र फार्मेसी सेवामा समेत विशेष छुट दिइएको छ। "हामी नागरिकको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै आर्थिक रूपमा सहज सेवा दिन प्रतिबद्ध छौं," उनले भने।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत जहाँगिर अन्सारीले भने, “सामाजिक उत्तरदायित्व बोध गर्दै निःशुल्क सेवा सुरु गरिएको हो। अस्पतालले शिक्षणसँगै सेवा पनि जिम्मेवारीपूर्वक प्रदान गर्नेछ।”

शिक्षा र सेवा दुवै क्षेत्रमा गहिरो अनुभव बोकेको व्यवस्थापनले अस्पताललाई नयाँ मोडलको रूपमा अगाडि बढाउने र आमनागरिकको स्वास्थ्य पहुँचमा थप सहजता ल्याउने लक्ष्य लिएको छ।

यो अस्पतालबाट काठमाडौंका सर्वसाधारण र विद्यार्थीहरू दुवैले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update