Swasthya Awaj
भेरी अस्पतालमा सुत्केरीको चाप दोब्बर, बेड अभावले भुइँमै नवजात र आमा राख्नुपर्ने अवस्था

नेपालगन्ज, २०८२ साउन १६- भेरी अस्पताल, नेपालगन्जमा सुत्केरी हुने महिलाको संख्या दुईगुना बढेसँगै, अस्पतालमा गम्भीर संकट उत्पन्न भएको छ। बेड अभावका कारण नवजात शिशु र सुत्केरी आमालाई भुइँमै राख्नुपर्ने अवस्था आएको अस्पताल प्रशासनले जनाएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा आमा सुरक्षा कार्यक्रम साउन १ गतेदेखि बन्द भएपछि, सुत्केरी सेवाको सम्पूर्ण भार भेरी अस्पतालमा परेको हो। भेरी अस्पतालको पोस्ट अपरेटिभ वार्ड (शल्यक्रियापछि राखिने कक्ष) र पीएनसी (प्रसूतिपश्चात् हेरचाह) कक्ष अहिले भरिभराउ छन्।

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार,

TB

“पहिले दैनिक ६ जना सम्मको सिजेरियन डेलिभरी हुँदै आएकोमा अहिले त्यो संख्या १२ सम्म पुगेको छ। अहिलेको संरचनाले यो चाप थेग्न सक्ने अवस्था छैन।”

अस्पतालले आपतकालीन उपायस्वरूप भुइँमा गद्दा र तन्ना ओछ्याएर आमाहरु र नवजात शिशुलाई राख्ने व्यवस्था गरेको छ।

भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदीका अनुसार,

“अस्पतालले आफ्नो क्षमताअनुसार सेवा दिइरहेको छ, तर यो अवस्थालाई अब सरोकारवाला निकायहरूले गम्भीरतापूर्वक लिने बेला आएको छ।”

उनले अस्पतालमा संरचनात्मक र जनशक्तिको अभाव रहेको बताउँदै, चाप कम गर्न सरकारले रणनीतिक हस्तक्षेप गर्नुपर्नेमा जोड दिए।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह*का अनुसार,

 “साउनदेखि सुत्केरीको चाप बढेको छ। पछिल्लो दुई हप्तामा मात्रै ७० प्रतिशतले सुत्केरी सेवाका लागि आउनेको संख्या बढेको छ।”

उनले समस्या समाधानका लागि केन्द्र सरकारसँग बजेट र स्रोत साधन माग गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

सरकारले सञ्चालन गर्दै आएको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क सुत्केरी सेवा दिँदै आएका अस्पतालहरूमध्ये, नेपालगन्ज मेडिकल कलेज र सञ्जिवनी मेडिकल कलेज जस्ता अस्पतालमा कार्यक्रम बन्द भएपछि सुत्केरी सेवाको सम्पूर्ण भार सरकारी अस्पतालमा आएको हो।

स्थानीय बासिन्दा लक्ष्मी खत्री भन्छिन्,

 “सुत्केरी गराउन अस्पताल गएकी बहिनीलाई बेड नपाएर भुइँमै राखिएको देख्दा निकै पीडा भयो। सरकारले तत्काल केही नगर्ने हो भने स्थिति भयावह हुन सक्छ।”

नेपालगन्जको भेरी अस्पतालमा अहिले स्रोत र पूर्वाधारको चरम अभाव छ। आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन गर्ने कि, भेरी अस्पतालको भौतिक पूर्वाधार विस्तार गर्ने भन्नेबारेमा अब तत्काल निर्णय आवश्यक देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update