Swasthya Awaj
सिंजा गाउँपालिकामा १५ सय घरको बीमा, प्राकृतिक विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकारको सहयोग

जुम्ला, २०८२ साउन १६- कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको सिंजा गाउँपालिकाले भूकम्प, बाढी, आगलागीजस्ता प्राकृतिक विपद्बाट हुने सम्भावित क्षतिको न्यूनिकरणका लागि ऐतिहासिक कदम चालेको छ। गाउँपालिकाले हालै एक हजार ५४५ घरधुरीको विपद् जोखिम बीमा गराएको जनाएको छ।

यो बीमा कार्यक्रम कर्णाली प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्ष (२०८१/८२)को स्वीकृत योजना अन्तर्गत गरिएको हो। गाउँपालिकाका ६ वटै वडामा तथ्यांक संकलनका लागि दुई-दुई जना कर्मचारी खटाइएका थिए, जसको आधारमा बीमाको संख्या निर्धारण गरिएको थियो।

TB

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार, “स्थानीय तहबाट प्रक्रिया पूरा गरी प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार विवरण पेस गरिएपछि बीमा गर्न स्वीकृति प्राप्त भएको हो।”

बीमा कार्यान्वयनका लागि प्रदेश सरकारले "घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१" तयार गरी फागुन १३ गते मन्त्रिपरिषद्बाट पारित गरेको थियो। उक्त कार्यविधि अनुसार, **एक परिवारका लागि एक घर मात्र बीमाको दायरामा ल्याइने र अधिकतम बीमांक रु २३ लाख सम्मको हुने व्यवस्था छ।

बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी, डुबान, हुरी-बतास जस्ता प्राकृतिक विपद्बाट घरमा क्षति पुगेमा बीमाबापत क्षतिपूर्ति प्राप्त गर्न सकिने व्यवस्था छ। बीमाका लागि लाग्ने शुल्क प्रदेश सरकारले नै व्यहोर्ने बताइएको छ।

कर्णाली प्रदेश सरकारले चालु वर्षका लागि मात्र रु ४ करोड ७५ लाख बजेट छुट्याएको छ भने, आगामी आर्थिक वर्ष २०८२/८३ मा रु ३ करोड ५० लाख बजेट विनियोजन गर्ने तयारी गरेको छ।

प्रदेशको कानुन मन्त्रालयका अनुसार, हालसम्म १६ हजार घरधुरीको विपद् बीमा** भइसकेको छ, जसको कुल बीमांक रु ११ अर्ब ५० करोड बराबर रहेको छ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको यो बीमा कार्यक्रमले कर्णालीका दुर्गम बस्तीहरूमा बसोबास गर्ने नागरिकहरूको जीवनस्तर सुरक्षातर्फ एक सशक्त उदाहरण प्रस्तुत गरेको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update