
वाशिङ्टन डिसी, साउन १६- अमेरिकाको ओहायो राज्यको कोलम्बसमा नेपाली राजदूतावासद्वारा आयोजित दुईदिने घुम्ती शिविरबाट करिब चार सय नेपाली सेवाग्राही लाभान्वित भएका छन्। नेपाली समुदायलाई राहदानी नवीकरणलगायतका सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले मङ्गलबार र बुधबार आयोजना गरिएको शिविरमा उत्साहजनक सहभागिता देखिएको दूतावासले जनाएको छ।
शिविर ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा. दामोदर पौडेलको समन्वयमा, स्थानीय गैरआवासीय नेपाली सङ्घ (NRNA) को सहकार्यमा सम्पन्न गरिएको थियो। वाशिङ्टन डिसीस्थित नेपाली दूतावासका इकोनोमिक कन्सुलर युगराज पाण्डे नेतृत्वको प्राविधिक टोलीले शिविरमा प्रत्यक्ष सेवा प्रदान गरेको हो।
डा. पौडेलका अनुसार, “राहदानी नवीकरण, कागजात प्रमाणीकरण जस्ता सेवाका लागि नेपालीहरूले डिसीस्थित दूतावाससम्म जानुपर्ने बाध्यता हटेर उनीहरूको समय, खर्च र झन्झट कम भएको छ।” उनले स्थानीय नेपाली समुदायको सक्रियता र दूतावासको पहुँच विस्तारले जनस्तरमै प्रभावकारी सेवा पुर्याएकोमा खुसी व्यक्त गरे।
यसअघि, गत आइतबार र सोमबार केन्टकी राज्यमा पनि सोही प्रकृतिको शिविर सञ्चालन गरिएको थियो। नेपालीहरूको जनघनत्व बढ्दै गएका राज्यहरूमा नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएको दूतावासले जनाएको छ।
शिविरबाट सेवा पाएका सहभागीहरूले दूतावासको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले अमेरिका जस्ता विशाल देशमा रहेका नेपालीहरूको administrative पहुँचलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन्।