
काठमाडौं, २०८२ साउन १५- नेपालका वरिष्ठ चिकित्सक डा. हरिओम केशरीले सिजेरियन शल्यक्रियामार्फत ४३ सेकेन्डमै शिशु जन्माएर ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। डा. केशरीको यो उपलब्धिलाई 'इन्टरनेशनल बुक अफ रेकर्ड्स' र 'एलिट वर्ल्ड रेकर्ड' दुबै संस्थाले स्वतन्त्र रूपमा प्रमाणित गरेका छन्।
यो सफलता सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित डोढारा चाँदनी अस्पतालमा आपत्कालीन अवस्थामा सम्पन्न गरिएको शल्यक्रिया हो। शल्यक्रिया सुरु भएको पहिलो छाला काटाइदेखि ४३ सेकेन्डभित्र शिशु जन्मिएको यो रेकर्ड, यसअघि कायम १ मिनेट ५ सेकेन्डको कीर्तिमानभन्दा छोटो समयमै सम्पन्न भएको हो।
२५ वर्षीया गर्भवती महिला, जसको गर्भअवधि ४० हप्ता ६ दिन पुगेको थियो, तीव्र रक्तचाप, न्यून एम्नियोटिक द्रव (AFI=5), र अघिल्लो गर्भवतीपनमा ९ वर्षको अन्तरालसहित आपतकालीन सेवामा भर्ना भएकी थिइन्। प्रारम्भिक रूपमा सामान्य प्रसूतिको प्रयास गरिएको भए पनि तीन घण्टापछि भएको शिशुको गम्भीर हृदयगतिको असमानताका कारण तुरुन्तै पहिलो श्रेणीको सिजेरियन शल्यक्रिया आवश्यक ठहरिएको थियो।
शल्यक्रिया पछि नवजात शिशुको अवस्थासमेत सन्तोषजनक रहेको जनाइएको छ। शिशुको १ मिनेटको एप्गार स्कोर ८/१० र ५ मिनेटमा ९/१० थियो। आमाको रक्तस्राव न्यून, पीडा कम, सर्जिकल घाउको चाँडो निको हुने र शल्यक्रिया पश्चातको रिकभरी तीव्र भएको उल्लेख गरिएको छ।
यो कीर्तिमान डा. केशरीको १५ वर्षे ग्रामीण तथा सिमान्त स्वास्थ्य सेवामा समर्पित यात्राको उपज हो। बाराको कलैयाबाट आएका डा. केशरीले अछाम, खोटाङ, र कञ्चनपुर लगायतका दुर्गम अस्पतालहरूमा कार्यरत रहँदै अत्यावश्यक स्वास्थ्य सेवा पुर्याएका छन्।
डा. केशरीले सामान्य अभ्यास चिकित्सक (MDGP) र जनस्वास्थ्यमा स्नातकोत्तर (MPH) गरेका छन्। साथै, उनी कार्डियाक केयर, अल्ट्रासोनोग्राफी, तथा आपतकालीन सेवा क्षेत्रमा समेत दक्ष छन्। अस्पतालमा एनास्थेसिया विशेषज्ञ नभएको अवस्थामा स्वयंले स्पाइनल एनास्थेसिया प्रदान गर्दै शल्यक्रिया संचालन गराएका छन्।
यस कीर्तिमानलाई डा. केशरीले व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक योगदानको प्रतिफलको रूपमा व्याख्या गरेका छन्। “यसले नेपालका दुर्गम क्षेत्रमा पनि यदि समर्पण, अनुभव र तालमेल भएमा विश्वस्तरीय काम गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ,” उनले बताएका छन्।
उनको टोलीमा स्वास्थ्य अधिकृत, नर्स, एनास्थेसिया सहायकदेखि स्वयंसेवकसमेत समावेश थिए। रेकर्ड बनाउने प्रेरणा भने भारतकी प्रो. डा. असीमा टनेजाको ६५ सेकेन्डको सिजेरियन डेलिभरी थियो, जसलाई डा. केशरीले पार गरेका हुन्।
साथै, उनले १५ वर्षअघि इन्फ नेपालका डा. शर्ली हेवुडबाट सिकेको जोएल-कोहेन प्रविधिको प्रभावकारी प्रयोग गर्दै सिजेरियन प्रक्रियालाई तिव्र, सुरक्षित र सफल बनाउँदै आएका छन्।
यो उपलब्धिले नेपालका सरकारी अस्पतालहरूमा समर्पित रूपमा कार्यरत स्वास्थ्यकर्मीहरूको प्रयास विश्वस्तरीय बन्न सक्ने सम्भावनालाई पुनः पुष्टि गरेको छ।
संसाधन सीमितता, मानव संशाधन अभाव, र चुनौतीपूर्ण वातावरणबीच पनि समर्पित टोली, वैज्ञानिक प्रविधिको प्रयोग, र आपत्कालीन अवस्थाको तत्काल निर्णय क्षमता भएमा नेपालमै विश्वस्तरीय कीर्तिमान कायम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् डा. हरिओम केशरी।