
काठमाडौं, २०८२ साउन १५- काठमाडौँ महानगरपालिकाले बर्खायाममा पानीजन्य रोगको जोखिम बढेको भन्दै उपभोक्तालाई उमालेर मात्र पिउने पानी प्रयोग गर्न आग्रह गरेको छ। मनसुनको सक्रियतासँगै हैजासहितका संक्रमणहरू फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कामपाले स्वच्छता र सावधानी अपनाउन सर्वसाधारणलाई सचेत गराएको हो।
महानगरपालिका अन्तर्गतको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले हाल शहरमा पानीको माग उच्च भए पनि आपूर्ति प्रणालीमा गुणस्तरमा कमी देखिन थालेको जानकारी दिँदै, पानीजन्य जोखिम घटाउन पानी उमालेर मात्र पिउनुपर्नेमा जोड दिए। उनका अनुसार महानगरले हाल पानी उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ।
गत असार महिनामा मात्र महानगरको टोलीले १५९ वटा मापदण्डविपरीतका पानी बोकेका जार नष्ट गरेको थियो। कामपाले प्रमुख नाकाहरूमा टोली खटाएर पानी व्यवसायीका सवारीसाधन र जारहरूको निरीक्षण गर्दै आएको छ। यस क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार प्रयोग नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।
कामपाले पानी बेच्ने व्यवसायीलाई पनि मापदण्ड पालना गर्न निर्देशन दिएको छ। निर्देशनअनुसार जारमा स्पष्ट विवरण खुल्ने लेबल अनिवार्य राख्नुपर्ने, बिलबीजकसहितका सवारीसाधन प्रयोग गर्नुपर्ने, र गैरप्रमाणिक स्रोतबाट पानी नल्याउनुपर्ने व्यवस्था गरिएको छ।
हैजा नियन्त्रणका लागि कामपाले समुदायमै पुगेर पिउने पानीको नमुना परीक्षण गर्ने तयारी गरेको छ। महामारी रोग नियन्त्रण शाखाका फोकल पर्सन ऋषि भुसालका अनुसार प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको छ। उनका अनुसार विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरु भएकाले हैजाको सम्भावित जोखिम पहिले नै बढेको छ।
कामपाले अघिल्ला वर्षहरूमा बल्खु, कालीमाटी र टङ्केश्वर क्षेत्रलाई उच्च जोखिम क्षेत्र मानेर निगरानी गरेको थियो। यस वर्ष पनि यस्ता संवेदनशील क्षेत्रहरूमा विशेष सावधानी अपनाइने र नागरिकको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर पानीको गुणस्तर परीक्षण तथा निगरानी कार्यलाई अझ प्रभावकारी बनाइने महानगरपालिकाले जनाएको छ।