Swasthya Awaj
सरकारी अस्पताललाई दुई अर्बभन्दा बढी मूल्यका उपकरण हस्तान्तरण, सेवा सुधारमा आशा

काठमाडौं, २०८२ साउन १५- स्वास्थ्य सेवा विभागले गत आर्थिक वर्ष २०८१/८२ मा मुलुकभरका सरकारी स्वास्थ्य संस्थाहरूमा दुई अर्बभन्दा बढी मूल्य बराबरका चिकित्सा उपकरण तथा सामग्री वितरण गरेको छ। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले संघीय, प्रादेशिक र स्थानीय तहका अस्पतालहरूलाई १४ हजारभन्दा बढी सामग्री हस्तान्तरण गरेको जनाएको छ।

विभागका अनुसार वितरण गरिएका सामग्रीहरूको कूल मूल्य दुई अर्ब एक करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको छ। महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले काठमाडौँमा आयोजित कार्यक्रममा उपकरण वितरणबारे जानकारी दिँदै सेवा सुधारका लागि यो कदम महत्वपूर्ण भएको बताए।

TB

संघीय अस्पताल तथा प्रतिष्ठानहरूले सबैभन्दा बढी ६१ करोड रुपैयाँ बराबरको उपकरण प्राप्त गरेका छन्। त्यसपछिका स्थानमा स्थानीय तह अन्तर्गतका नगर अस्पतालहरू (४८ करोड ६२ लाख रुपैयाँ) र प्रादेशिक अस्पतालहरू (१५ करोड ६ लाख रुपैयाँ) छन्। सामुदायिक स्वास्थ्य केन्द्रहरूलाई भने सबैभन्दा कम जम्मा ९१ हजार रुपैयाँको सामग्री उपलब्ध गराइएको छ।

स्वास्थ्य सामग्री खरीदका लागि चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँ मात्र विनियोजन गरिएको भए पनि अघिल्ला वर्षमा खरिद भई गोदाममा रहेका सामग्री समेत यसपालि वितरण गरिएको महाशाखाले स्पष्ट पारेको छ।

खरीद तथा वितरण गरिएको सामग्रीहरू विशेष गरी मुटु, मिर्गौला, दन्त, प्रयोगशाला, क्षयरोग स्क्रिनिङ र पेटसम्बन्धी रोगको उपचारमा केन्द्रित रहेको छ। तर, थ्रीडी ल्याप्रोस्कोप, सी-आर्म, कार्डियो टोपोग्राफी, इलेक्ट्रो सर्जरी, फिजियोथेरापी तथा एफएफआर उपकरणहरू भने खरीद गर्न नसकिएको विभागले जनाएको छ।

यसैबीच, बाँकी रहेका सामग्रीहरू वितरण गर्न बिहीबार एक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको अध्यक्षतामा उपकरणहरू सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गरियो।

महानिर्देशक डा. बाराकोटीले प्राप्त सामग्रीहरूको अधिकतम उपयोग गर्न आग्रह गर्दै भने, “राज्यको ठूलो लगानीमा खरिद गरिएका यी सामग्रीहरू जनस्वास्थ्य सुधारका लागि हो, त्यसैले यसको सदुपयोग गर्नु स्वास्थ्य संस्थाहरूको दायित्व हो।”

कार्यक्रममा सहभागी अस्पताल प्रतिनिधिहरूले वितरण प्रणालीलाई स्वागतयोग्य कदम भन्दै उपकरणहरूका कारण सेवा विस्तारमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे। स्वास्थ्य सेवा विभागले भविष्यमा अझ प्रभावकारी वितरण र अनुगमन प्रणालीमार्फत सेवा प्रवाह थप सुदृढ बनाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update