Swasthya Awaj
सिभिल अस्पतालमा गुणस्तर सुधारका लागि २० बुँदे कार्ययोजना, निर्देशक र सचिवबीच समझदारी

काठमाडौं, २०८२ साउन १५- निजामती कर्मचारी अस्पतालले आगामी आर्थिक वर्षका लागि सेवा सुधार र विस्तारमा केन्द्रित कार्ययोजना प्रस्तुत गरेको छ। अस्पतालका कार्यकारी प्रमुख प्रा. डा. मोहन चन्द्र रेग्मी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। यो समझदारीले अस्पतालको सेवा गुणस्तरमा सुधार ल्याउनुका साथै सेवा प्रवाहमा पारदर्शिता र कार्यकुशलता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

सम्झौताअनुसार अस्पतालले स्वास्थ्य सेवा क्षेत्रलाई प्रविधिमैत्री बनाउने, दक्ष जनशक्तिको परिचालनलाई प्रभावकारी बनाउने र वित्तीय प्रणालीमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएको छ। साथै, सेवा उपयोगकर्ताको सन्तुष्टि अभिवृद्धि गर्न ठोस योजनाहरू पनि अघि सारिएको छ।

TB

डा. रेग्मीले आगामी वर्षमा लागू गरिने प्रमुख २० बुँदे लक्ष्य सार्वजनिक गरेका छन्, जसमा मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्र स्थापनाको आधार तयार पार्ने, क्याथ ल्याब स्थापना गर्ने, युरोलोजी तथा न्यूरोलोजी सेवा विस्तार गर्ने, मिनिमल इन्भेजिभ सर्जरी सेवा थप सशक्त बनाउने, र रेडियोथेरापी उपकरण खरिद गरी सेवा प्रदान गर्ने विषयहरू समेटिएका छन्। त्यस्तै, अस्पतालको फार्मेसी सेवा सुदृढीकरण, ब्लड बैंकको नियमित सञ्चालन, टेलिमेडिसिन सेवा सञ्चालन र स्वास्थ्य बीमा कार्यक्रमको आधार तयार गर्ने पनि कार्ययोजनामा समावेश छ।

सचिव पन्थले कार्यसम्पादन सम्झौतापछि बोल्दै नागरिकलाई लक्षित सेवामा गुणस्तर र जवाफदेहितालाई जोड दिनुपर्ने बताएका छन्। उनले अस्पतालले जनताको भरोसा जित्ने गरी सेवा दिनुपर्नेमा जोड दिँदै, सार्वजनिक संस्थाहरूमा यस्तो प्रकारको कार्यसम्पादन मूल्याङ्कन प्रणालीले नेतृत्व तहमा नतिजामुखी सोच विकसित गर्न सहयोग गर्ने बताएका छन्।

त्यस्तै, डा. रेग्मीले आफू सम्झौतामा उल्लेख गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्न पूर्ण रूपमा समर्पित हुने बताएका छन्। अस्पतालमा रहेको मानव संसाधन, प्रविधि र पूर्वाधारलाई समुचित रूपमा परिचालन गरी सेवा विस्तारमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ। साथै, अस्पतालजन्य फोहोरको वैज्ञानिक व्यवस्थापन र प्रदेश स्तरमा सेवा विस्तार गर्न अन्य सरकारी अस्पतालहरूसँग सहकार्य गरिने समेत बताइएको छ।

यो कार्यसम्पादन सम्झौताले निजामती कर्मचारी अस्पताललाई आगामी वर्षमा सेवा गुणस्तर, प्रविधिको प्रयोग र समावेशी पहुँचका हिसाबले थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update