Swasthya Awaj
फर्जी चिकित्सकको भरमा जलेश्वरका डेन्टल क्लिनिक, विरामीहरुको स्वास्थ्यमा जोखिम

जलेश्वर, २०८२ साउन १५- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सञ्चालनमा रहेका अधिकांश दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) फर्जी चिकित्सकको भरमा सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलको अनुगमन टोलीले गरेको छड्के निरीक्षणमा प्रमाणित चिकित्सकको नाम र बोर्ड प्रयोग गरिए पनि व्यवहारमा क्लिनिकहरूमा बिना योग्यता वा प्रमाणपत्र भएका व्यक्ति उपचारमा संलग्न रहेको पाइयो।

अनुगमन टोलीको नेतृत्व गरेका नेपाल डेन्टल एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजयकुमार साहका अनुसार विश्वास डेन्टल, जलेश्वर स्माइल डेन्टल केयर, शिव शक्ति मेडिकल, स्वामी श्री डेन्टल क्लिनिक लगायतका संस्थाहरूमा चिकित्सकको नाम प्रयोग गरी जनकपुरधामका डाक्टरहरूको बोर्ड देखाइए पनि उनीहरू स्वयं उपस्थित नभई अन्य व्यक्तिहरूले सेवा दिइरहेका थिए।

विशेषगरी जिल्ला प्रशासन कार्यालय नजिकै रहेको विश्वास डेन्टल क्लिनिकमा डा. रविकुमार पाण्डेय र डा. राजिव शर्माको नाम देखाइए पनि, क्लिनिकका सञ्चालक दिलीपचन्द्र विश्वास आफैंले बिरामीको जाँच गर्ने गरेका थिए। यसैगरी, १५ दिनदेखि त्यहाँ कार्यरत बताउने डा. श्रुति साहको नाममा कुनै औपचारिक सम्झौता वा नियुक्तिपत्र नभएको पुष्टि भएको छ।

TB

जलेश्वर स्माइल डेन्टलमा पनि डा. राजुकुमार साह, डा. संजीव मिश्रा, डा. अनिल यादव, डा. भावना यादव र डा. सौरभ कर्णको नाम प्रयोग गरिए पनि क्लिनिकमा उनीहरू उपस्थित नभएको देखियो। अनुगमनका क्रममा सञ्चालक विरेन्द्रकुमार चौधरी स्वयंले बिरामी जाँच गरिरहेको अवस्थामा भेटिए।

अनुगमनका डरले केही अन्य क्लिनिकका सञ्चालक भने फरार भएको काउन्सिलले जनाएको छ। मेडिकल काउन्सिलले विश्वास डेन्टलका सञ्चालकलाई सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ भने अन्य क्लिनिकहरूमा समेत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।

यसअघि पनि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालहरूको अनुगमन गर्दा धेरैजसो संस्थाहरू मापदण्ड विपरीत र अवैध रुपमा सञ्चालन भइरहेको देखिएको थियो। तिनै संस्था स्थानीय तहको समर्थनमा पुनः सञ्चालनमा आएकोप्रति आलोचना भइरहेको छ।

डा. साहले भने, "योग्यता नपुगेका व्यक्तिहरूले उपचार गर्नु बिरामीको स्वास्थ्यसँग गम्भीर खेलवाड हो। यो न स्वास्थ्य मापदण्डअनुकूल छ, नत नैतिक। हामी कानूनी प्रक्रिया अनुसार सबै क्लिनिकलाई मापदण्डभित्र ल्याउनेछौं।"

जलेश्वरमा दर्जनौँ डेन्टल क्लिनिकहरू यस्तो अवैध अभ्यासमा संलग्न रहेको खुलेपछि स्थानीयवासीको स्वास्थ्य सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ। अबको दिनमा डेन्टल क्लिनिकको निगरानी तथा नियमपालनमा कडाइ गरिनुपर्ने मागसमेत बढ्दो छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update