
भक्तपुर, २०८२ साउन १५- भक्तपुर अस्पतालमा आजदेखि मिर्गौलाका बिरामीका लागि डायलासिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उक्त सेवा उद्घाटन गर्दै सेवा निःशुल्क रूपमा उपलब्ध हुने जानकारी दिएका छन्।
बागमती प्रदेश सरकारले खरिद गरेका १६ डायलासिस मेसिनमध्ये पाँच शय्याको सेवा भक्तपुर अस्पतालमा सञ्चालनमा ल्याइएको हो। मन्त्री थापाका अनुसार, रसुवा र टोखा बाहेक प्रदेशका ११ जिल्लाका अस्पतालहरूमा डायलासिस सेवा विस्तार भइसकेको छ र बाँकीमा छिट्टै सुरु गरिनेछ।
मन्त्री थापाले प्रदेशभरका १३ जिल्लाका अस्पतालहरूमा विशेषज्ञ सेवा सञ्चालन भइसकेको र आवश्यक जनशक्ति पनि प्रदेश सरकारले नै व्यवस्थापन गरिरहेको बताए। भक्तपुर अस्पतालको नयाँ भवन निर्माणका लागि तीन करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ भने थप बजेटका लागि दाता खोज्ने तयारी गरिएको छ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले भक्तपुर अस्पताल ‘बी’ ग्रेडकै सर्वोत्कृष्ट अस्पतालको रूपमा स्थापित हुँदै गएको बताइन्। उनले देशभर ७१ प्रतिशत मानिस नसर्ने रोगका कारण मृत्यु हुने तथ्य उल्लेख गर्दै, रोग लाग्न नदिन सामाजिक चेतना अभिवृद्धिमा विशेष अभियान सञ्चालन गरिने जानकारी दिइन्।
अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले संघीय सरकारको स्वीकृति पश्चात सेवा सुरु गरिएको जानकारी दिँदै विपन्न बिरामीलाई डायलासिस सेवा पूर्णतः निःशुल्क प्रदान गरिने बताए। हाल तीन सिफ्टमा चार-चार जनाको दरले दैनिक १२ जनालाई सेवा दिइनेछ भने एक मेसिन आकस्मिक अवस्थाका लागि छुटाइएको छ।
भक्तपुर अस्पतालमा सुरु गरिएको यो सेवा मिर्गौला रोगीहरूका लागि राहत बन्ने अपेक्षा गरिएको छ, जसले विशेष गरी आर्थिक रूपमा कमजोर वर्गलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउनेछ।