
काठमाडौं, २०८२ साउन १५- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वित्तीय प्रणालीलाई थप पारदर्शी र उत्तरदायी बनाउन नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले यो कार्यविधि जारी गर्दै आन्तरिक आर्थिक सञ्चालन, बजेट व्यवस्थापन र खर्च अनुशासनमा सुधार ल्याउने उद्देश्य लिएको हो।
नयाँ कार्यविधिमा बजेट निर्माण, खर्च स्वीकृति, रकमान्तर प्रक्रिया, बेरुजु व्यवस्थापन तथा पारदर्शिता कायम गर्ने उपायहरु समेटिएका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यस कार्यविधिबाट आन्तरिक लेखा प्रणाली अझ स्पष्ट र कार्यान्वयनमुखी बन्नेछ।
यसले मन्त्रालय र मातहतका निकायबीच समन्वय मजबुत बनाउने, खर्चमा मितव्ययिता अपनाउने र बेरुजु समस्या नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यविधिमा बजेट तर्जुमा गर्दा पालना गर्नुपर्ने आधारभूत मापदण्ड प्रष्ट पारिएको छ भने रकमान्तर प्रक्रिया स्पष्ट पार्ने गरी निर्देशिका तयार गरिएको छ।
साथै, कर्मचारीहरूको उत्तरदायित्व बढाउने र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने दिशामा पनि कार्यविधिले मार्गनिर्देशन गर्नेछ।
यो पहलले मन्त्रालयको आन्तरिक सुशासन र वित्तीय अनुशासनलाई बलियो बनाउने विश्वास गरिएको छ।