Swasthya Awaj
शिशुको ज्यान बचाएकी अनमी जानकीलाई स्वास्थ्य मन्त्रीको स्याबासी : ‘तपाईंजस्तो स्वास्थ्यकर्मी देशलाई आवश्यक छ’

बैतडी, २०८२ साउन १४- सिगास गाउँपालिका-४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा कार्यरत अनमी जानकी पुजाराले ६ घण्टासम्म मुखबाट अक्सिजन दिएर नवजात शिशुको ज्यान बचाएकी छन्। उनको यो उदाहरणीय कार्यले राष्ट्रिय तहमा चर्चा पाएको छ।

बुधबार अपराह्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अनमी पुजारालाई फोन गरेर कार्यको प्रशंसा गरे। “बच्चाको ज्यान बचाएर तपाईंले उदाहरणीय काम गर्नुभएको छ। यो देशलाई तपाईंजस्ता स्वास्थ्यकर्मीको खाँचो छ,” मन्त्री पौडेलले भनेको जानकीले सुनाइन्। मन्त्रीबाट प्रशंसा पाएपछि उनी अत्यन्तै उत्साहित भएको बताउँछिन्।

TB

गत बिहीबार २० वर्षीया महिलाले जन्म दिएको शिशु गम्भीर अवस्थामा थियो। स्थल र हवाइ उद्धार सम्भव नभएको विषम परिस्थितिमा अनमी पुजाराले आफ्नै मुखबाट कृत्रिम श्वास दिएर शिशुको जीवन रक्षा गरिन्। लगातार ६ घण्टा श्वास दिँदा पनि उनले धैर्य र समर्पण गुमाइनन्।

अनमीको यो प्रयासलाई सरकारले पनि ‘नोटिस’मा राखेको छ। मन्त्री पौडेलले फोनमार्फत यस्ता समर्पित स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन्। “तपाईंको जस्तो कर्मठता र समर्पण देशभरका स्वास्थ्य संस्थामा जरुरी छ,” मन्त्रीले भनेका छन्।

अनमी जानकी पुजाराले पनि आफ्नो कर्तव्यलाई अझ गम्भीरतापूर्वक लिने बताएकी छन्। “म आफ्नो कामप्रति अझ अडिग छु। सबैले आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम गरे परिवर्तन सम्भव छ,” उनले भनिन्।

यो घटनाले दुर्गम क्षेत्रमा सेवा दिइरहेका स्वास्थ्यकर्मीको भूमिकाको कदर गर्नु आवश्यक छ भन्ने सन्देश दिएको छ। साथै, यस्तो समर्पणलाई संस्थागत रूपमा सम्मान गर्दै काम गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व रहेको स्पष्ट हुन्छ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update