Swasthya Awaj
भरतपुर अस्पतालमा घट्दो प्रसूति सेवा : सेवाको पहुँच विस्तार मुख्य कारण

भरतपुर, २०८२ साउन १४- कहिले काँही एक वर्षमा १६ हजारसम्म गर्भवती महिलाले प्रसूति सेवा लिने भरतपुर अस्पतालमा अहिले त्यो संख्या घट्दो क्रममा देखिएको छ। परोपकार प्रसूतिगृहपछि दोस्रो ठूलो मातृस्वास्थ्य सेवा दिने सरकारी अस्पताल मानिने भरतपुर अस्पतालमा विगत तीन वर्षयता प्रसूति सेवाका लाभग्राही घट्दै गएका छन्।

अस्पतालका प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख प्राडा सुनिलमणि पोखरेलका अनुसार, आर्थिक वर्ष २०७९/८० मा ११ हजार ८९४, २०८०/८१ मा ९ हजार ३५५ र हालै सम्पन्न २०८१/८२ मा जम्मा ८ हजार ३१८ जना गर्भवतीले मात्र प्रसूति सेवा लिएका छन्।

TB

पछिल्लो वर्षको तथ्यांकअनुसार, सेवा लिने मध्ये ५२.४५ प्रतिशतले सामान्य डेलिभरी र ४५.२८ प्रतिशतले सिजेरियन डेलिभरी गरेका थिए। बाँकी २.२६ प्रतिशत जटिल प्रसूति रहेका थिए।

डा. पोखरेलका अनुसार, सेवा घट्नुको प्रमुख कारण गाउँ–सहरमा बर्थिङ सेन्टर र नगर अस्पतालमा प्रसूति सेवाको पहुँच विस्तार हो। “पहिलेका वर्षहरूमा छिमेकी जिल्लाबाट पनि धेरै महिला भरतपुर अस्पताल आउने गर्थे, अहिले स्थानीय तहमै सेवा लिन थालेपछि चाप कम भएको हो,” उनले भने।

एकातिर जनसंख्या वृद्धिदरमा कमी आएको छ भने अर्कोतिर उत्पादनशील उमेर समूहका युवायुवती वैदेशिक रोजगारीतर्फ गएका कारण पनि देशभर प्रसूति सेवाको मागमा झन्डै ३० प्रतिशतको गिरावट आएको डाक्टर पोखरेलको विश्लेषण छ।

यस अवस्थाले देखाउँछ कि मातृ तथा नवजात सेवा विस्तारले केन्द्रिकृत चाप घटाउन सहयोग गरेको छ। भरतपुर अस्पतालमा देखिएको यो गिरावट सेवा घटेको सूचक नभई सेवा वितरण सन्तुलनको संकेत हो भन्ने धारणा चिकित्सकहरूको छ। स्थानीय अस्पताल र स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय सेवा विस्तार हुने हो भने मातृस्वास्थ्यमा अझ सुधार आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update