Swasthya Awaj
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना मन्त्रिपरिषद्बाट स्वीकृति नपाउँदा अलपत्र : मन्त्री पौडेल

काठमाडौँ, २०८२ साउन १४- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति थप्ने सरकारी योजना मन्त्रिपरिषद्बाट स्वीकृति नपाउँदा अलपत्र परेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफू मन्त्री भएपछि तीनपटक जनशक्ति थप्ने प्रस्ताव अघि सारे पनि मन्त्रिपरिषद्बाट कुनैपनि स्वीकृति नआएको गुनासो गरे। उनका अनुसार हाल देशभर संघीय अस्पतालहरूमा जम्मा २६ सय मात्र दरबन्दी रहेको र उपत्यका बाहिर त एक तिहाइ पनि जनशक्ति नपुगेको अवस्था छ।

TB

मन्त्री पौडेलले २०४८ सालयता स्वास्थ्य मन्त्रालयमा दरबन्दीसम्बन्धी ओएनएम (अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट) स्वीकृत नभएको स्मरण गरे। मन्त्रालयले गएको वर्ष गरेको ओएनएम सर्वेक्षणमा करिब ९० हजार जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको थियो। त्यसअनुसार ६० हजार स्थानीय तह, १५ हजार प्रदेश तथा १५ हजार संघीय तहका लागि जनशक्ति आवश्यक ठहर गरिएको थियो।

चालु आर्थिक वर्षमा ३० हजार जनशक्ति भर्ना गर्ने उद्देश्यसहित प्रस्ताव मन्त्रिपरिषद्मा पुगे पनि स्वीकृति नआएको उनले बताए।

त्यसैगरी, चिकित्सकको सरुवा गरिएको स्थानमा उनीहरू नजाने प्रवृत्तिबाट मन्त्रालय असहाय बनेको मन्त्री पौडेलको भनाइ थियो। नम्स प्रणाली प्रभावकारी रूपमा लागू नहुँदा सरुवालाई कार्यान्वयन गराउन कठिन भइरहेको उनले बताए।

उनले अस्पतालहरूमा पर्याप्त जनशक्ति नभएसम्म आकस्मिक सेवा प्रभावकारी नहुने चेतावनी दिँदै, उपत्यकाभित्रका अस्पतालहरूमा समेत स्रोत, साधन र जनशक्ति थप्नुपर्ने आवश्यकतामाथि जोड दिए।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update