Swasthya Awaj
स्वास्थ्य बीमाअन्तर्गत अस्पतालहरूको बक्यौता आगामी भदौभित्र भुक्तानी हुने : मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौँ, २०८२ साउन १४- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा सूचीकृत अस्पतालहरूले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी (बक्यौता) रकम आगामी भदौ महिनाभित्र फरफारक गरिने स्पष्ट पारेका छन्।

सोमबार वीर अस्पतालको १३६औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै बक्यौता समस्या समाधानको तयारी भइरहेको जानकारी दिए। “सबै अस्पतालको बक्यौता भदौभित्र मिलाउनेछौं। विपन्न नागरिकका लागि कडा रोगको उपचारमा सहुलियत पनि दोब्बर बनाएका छौं,” मन्त्री पौडेलले भने।

TB

स्वास्थ्य बीमा कार्यक्रम २०७२ सालदेखि सुरु भए पनि देशभर प्रभावकारीरूपमा सेवा विस्तार र सन्तोषजनक परिणाम आउन सकेको छैन। बीमित बिरामीको उपचार गरेबापतको रकम नपाएको गुनासो सरकारीदेखि निजी अस्पतालसम्मबाट उठ्दै आएको छ।

कतिपय सरकारी अस्पतालहरूले समेत लामो समयदेखि बक्यौता नपाएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम आंशिक रूपमा मात्रै सञ्चालन गर्दै आएका छन्।

बीमा बोर्डले जनशक्ति अभावका कारण दावी भुक्तानी प्रक्रिया ढिलो भएको जनाएको छ। यद्यपि यसपटक १८० जना मेडिकल अधिकृतलाई करारमा नियुक्त गरी ९० दिनभित्र दावी भुक्तानी प्रक्रिया छिटो टुंग्याउने तयारी गरिएको छ।

मन्त्री पौडेलका अनुसार, अब स्वास्थ्य बीमा कार्यक्रमलाई जनमुखी, पारदर्शी र दिगो बनाउँदै विपन्न वर्गले प्राथमिकताका साथ सेवा पाउने प्रणाली निर्माण गरिनेछ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update