
काठमाडौँ, २०८२ साउन १४- हालै चर्चामा आएको डिम्ब कारोबार प्रकरणमा संलग्न हुन सक्ने निजी आइभिएफ केन्द्रहरूको छानबिन गर्न बनेको सरकारी समितिको नेतृत्वमै स्वार्थ बाझिएको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ साउनमा होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि (बिजुली बजार) र एन्जल फर्टिलिटी क्लिनिक (महाराजगञ्ज) का गतिविधि अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो। तर सो समितिको संयोजक डा. ज्वाला थापा नै निजी आइभिएफ केन्द्र ‘प्यासिफिक आइभिएफ’ की सञ्चालक रहेको खुल्न आएको छ। उनी थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत सरकारी चिकित्सक पनि हुन्।
यसरी छानबिन जिम्मा पाएका व्यक्तिकै व्यवसायिक हित त्यसै क्षेत्रमा रहेको हुँदा निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेका छन्। मन्त्रालयले समिति गठन गर्दा सो विवरण थाहा नपाएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन्।
अन्य सदस्यमा मन्त्रालयकै डा. सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईं रहेका छन्। तर संयोजककै भूमिकामाथि शंका उत्पन्न भएपछि छानबिन प्रक्रिया निष्पक्ष हुनेमा व्यापक आशंका व्यक्त हुन थालेको छ।
स्वास्थ्य प्रणालीमा नैतिकता र पारदर्शिताको सवाल उठिरहेका बेला यस्तो संवेदनशील विषयमा जिम्मेवार व्यक्ति चयनमा लापरवाही हुनु मन्त्रालयकै कार्यशैलीप्रति प्रश्न उठाउने विषय बनेको छ।