
ललितपुर, २०८२ साउन १३- बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउने उद्देश्यले ललितपुर महानगरपालिका वडा नम्बर १३ मा लिटो वितरण कार्यक्रम सञ्चालन गरिएको छ। मंगलबार मात्र ३२ जना दुई वर्षमुनिका बालबालिकालाई निःशुल्क रूपमा पोषिलो लिटो वितरण गरिएको छ।
नगर स्वास्थ्य केन्द्र ललितपुर-१३ का इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक मधुकरमणि आचार्यका अनुसार तीमध्ये १६ जना पहिलेबाटै नियमित रूपमा लिटो लिइरहेका थिए भने १६ जना बालबालिका नयाँ थपिएका हुन्। “स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरूले केही समयअघि घरदैलोमा पुगी बालपोषण र स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गरेपछि थप बालबालिका सहभागी हुन आएका हुन्,” आचार्यले जानकारी दिए।
उनका अनुसार वडामा स्थायी तथा अस्थायी रूपमा बसोबास गरिरहेका सबै परिवारका दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई यो सेवा दिइन्छ। स्वास्थ्य केन्द्रमा जाँच गर्न आउने जुनसुकै स्थानका बालबालिकालाई समेत कुपोषणबाट जोगाउन लिटो वितरण गरिँदै आएको छ।
यो कार्यक्रम वडाले प्रत्येक महिनाको १३ गते नियमित रूपमा सञ्चालन गर्दै आएको हो। गत आर्थिक वर्षदेखि सुरु गरिएको यो पहलले बालबालिकामा कुपोषणको दर घटाउनेतर्फ सकारात्मक संकेत देखाएको जनाइएको छ।